दुधकोशी ५ जलविद्युत आयोजनाको पूरक ईआईएका लागि सार्वजनिक सुनुवाई सम्पन्न
स्थानीयले राखे सर्वपक्षीय माग, पूरा गर्ने कम्पनीको प्रतिबद्धता
सोलुखुम्बु, २३ असार २०८२ । दुधकोशी ५ जलविद्युत आयोजना (११० मेगावट) पूरक वातावरणीय प्रभाव मुल्यांकन (इआइए)को लागि सार्वजनिक सुनुवाई कायक्रम सम्पन्न भएको छ । पास भइसकेको ईआईएभन्दा फरक संरचना निर्माण गर्नुपर्ने अवस्थामा पुरक ईआईए गर्नुपर्ने कानुनी प्रावधान छ । नेपाल सरकारको स्वामित्वमा २०७६ मा आयोजनाको इआइए पारित भएकोमा इन्टेक सार्नुपर्ने भएकोले पूरक ईआईएका लागि सोमबार खास्तापस्थित गाउँ सभाहलमा सार्वजनिक सुनुवाई गरिएको हो ।
नेपाल सरकारले आफ्नो स्वामित्वमा रहेको लाइसेन्स विक्री गरेको थियो । २०७७ साल असार ८ गते इन्डिपेन्डेन पावर कम्पनीले उक्त आयोजनाका लागि लाइसेन्स प्राप्त गरेको थियो ।
आयोजना प्रमुख के.बी. बोहराको सभापतित्व तथा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिहरु, स्थानीय बुद्धिजिवी एवं स्थानीय नागरिकको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाईको समन्वय टेक्नोक्वेरी कन्सल्ट्स प्रालिले गरेको थियो ।
कार्यक्रममा कम्पनीले आयोजना सम्बन्धी मस्यौदा प्रस्तुत गरेपछि सहभागिहरुको तर्फबाट आयोजनाको विस्तृत विवरणसँगै त्यसले पार्ने असर, मुआब्जा, क्षतिपूर्ति तथा सम्पूर्ण समस्याहरुको सम्बन्धमा राय, सुझाव र सल्लाह पेश गर्ने काम भयो ।
त्यसपछि आयोजना प्रमुख बोहराले इआइए प्रतिवेदनमा सबैको मागहरु समेटेर सम्बोधन सुनिश्चित गर्ने र थप विषय स्थानीय सरकार, स्थानीयबासीहरुको आवश्यकताअनुसार काम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
आयोजनाको हेडवक्स तथा इन्टेक माप्य दुधकोशी गाउँपालिका वडा नं. २ र ७ मा पर्नेछ भने पाइप लाइन वडा नं. २, ३ हुँदै वडा नं. ४ मा विद्युतगृह बन्नेगरी डिजाइन तयार पारिएको कम्पनीले सार्वजनिक गरेको छ । त्यसो गर्दा हेडवक्सदेखि विद्युतगृहसम्म ६ किलोमिटर दूरी आयोजनाले ओगट्ने छ । त्यसको सुक्खा तटीय क्षेत्र वडा नं. २, ३, ६ र ७ आयोजनाको इन्टेकदेखि टेलरेस आउटलेटबीचको क्षेत्रमा पर्नेछ ।
आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय लाइनको लागि ६५ किलोमिटर दूरीमा रहेको खिम्ती सब्स्टेशन २२० मा जोडिने छ ।
कम्पनीले फिजिविलिटी, डिपिआरको काम सकेर पुरक इआइएको काम अघि बढाएको हो ।
२०८२ सालभित्र इआइए र पीपीए सक्ने र २०८३ भित्र जेनेरेशन लाइसेन्स लिएर काम अघि बढाउने लक्ष्य कम्पनीको रहेको छ । आयोजनाको कुल लागत आजको डलर रेटअनुसार २१ अर्ब ९७ करोड रहेको कम्पनीले जनाएको छ । आयोजनाको लागि कुल ५३०.३७ रोपनी जग्गा ओगट्ने छ ।


