खालिङ संघको २४औं वार्षिकोत्सव तथा दोस्रो भाषिक कविता प्रतियोगिता सम्पन्न, रविन खालिङको ‘थ्योक्ला’ प्रथम

काठमाडौँ । किरात खालिङ राई उत्थान संघले आफ्नो २४ औँ वार्षिकोत्सको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा दोस्रो ‘खालिङ भाषिक कविता प्रतियोगीता’ सम्पन्न गरेको छ। शुक्रबार काठमाडौंको सुन्धारामा अवस्थित नवदुर्गा पार्टी भेन्यूमा सम्पन्न उक्त प्रतियोगितामा रविन खालिङ प्रथम भएका छन् । ‘थ्योक्ला’ कविताबाट प्रथम भएका सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ छिगाउँका रविनले नगद २० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगीतामा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका २ ठूलोढुंगाका मज्जला ख्याल द्धितीय भएर प्रमाण पत्रसहित नगद १५ हजार पुरस्कार हात पारे । उनले ‘ल्योङ्म्य’ शीर्षकको कविता वाचन गरेका थिए ।
माप्य दुधकोशी गाउँपालिका ३ लेम्चीका एका प्रसाद खालिङ ‘राम्रीसे’ तृतीय भएका छन् । उनको ‘देलकम’ कविताले प्रमाणपत्र तथा नगद १० हजार पुरस्कार प्राप्त गरे भने प्रतियोगीताका अन्य ७ प्रतिस्प्रर्धीलाई नगद ५ हजारको दरले प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
कविता प्रतियोगिताको पुरस्कारका लागि नायक दयाहाङ राई, समाजसेवी कुस्मा खालिङ राई, चलचित्र निर्माता अमोद राईलगायतले प्रायोजन गरेका थिए ।
किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष बल बहादुर खालिङको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहबीच खालिङ भाषाको कविता संग्रह ‘न्वामस्याम’ सार्वजनिक गरिएको छ । संघको २३औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगीतामा सहभागी २५ भन्दा बढी खालिङ भाषाका कविताहरु संग्रहित गरिएको छ ।
सोही अवसरमा परराष्ट्र मन्त्रालय सचिव अमृत बहादुर खालिङले अक्षयकोष स्थापनार्थ ४ लाख रुपैयाँ बराबरको चेक संस्थालाई गरेका छन् । ‘इन्द्र बहादुर खालिङ राई स्मृती अक्षयकोष’ नाम दिइएको उक्त कोषबाट प्राप्त हुने व्याज रकम खालिङ खोज अनुसन्धानमा प्रयोग गर्ने संघका अध्यक्ष बलबहादुर खालिङले जानकारी दिए ।
कार्यक्रममा चित्रकारद्धय राज कुमार र कञ्चन खालिङलाई सम्मान गरिएको छ । उनीहरुले आदिम पुर्खा ‘निनम रिदम र ख्याम्दा’को चित्र बनाएका थिए । त्यस्तै, खालिङ समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पञ्चे खालिङ, टेक बहादुर खालिङ र मिलन खालिङलाई पनि सम्मान गरिएको छ ।