काठमाडौंमा नेवारी-जापानिज मौलिक संस्कृति र संगीतको विशेष प्रदर्शनी सम्पन्न
काठमाडौं, ५ चैत्र २०८२ / नेपाल पर्यटन बोर्डले जापानिज-नेवारी मौलिक साँस्कृतिक संगीत संयोजन-२०२६ शीर्षकमा काठमाडौंमा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ। भृकुटीमण्डपस्थित बोर्डको अडिटोरियम हलमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल र जापान बीचको ७० वर्षे कूटनीतिक सम्बन्धको स्मरण उत्सवका रूपमा आयोजना गरिएको उक्त कार्यक्रमबाट दुई देश बीचको मित्रता, संस्कृति र संगीत आदन प्रदान गरिनुका साथै पारस्परिक सम्मानलाई उजागर गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र जापानको वर्ल्ड यू एकेडेमी (हिरोज क्लब)को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल र जापानको फरक फरक परमपरागत सांगीतिक प्रस्तुतीका माध्यमबाट साँस्कृतिक कूटनीतिक शक्तिलाई प्रस्ट रूपमा उजागर गरिएको थियो । कार्यक्रमले दुबै देशका कलाकार र साँस्कृतिक प्रतिनिधिहरूलाई एकै मञ्चमा ल्याउँदै ढोल बाजाको परम्परागत ताल र कलात्मक प्रस्तुति झल्काउने काम गरेको छ ।
कार्यक्रमको मुख्य आकर्षण जापानबाट आएका वर्ल्ड यू एकेडेमी अन्तर्गत हिरोको क्लबका कलाकारहरूले प्रस्तुत गरेको मनमोहक ढोल (ड्रम) प्रदर्शन थियो । जापानी साँस्कृतिक धरोहरको गहिरो पहिचान झल्काउने गरी प्रस्तुत उनीहरूको ऊर्जाशील, सुसंगत र आकर्षक प्रस्तुतीले श्रोता–दर्शकलाई मन्त्रमुग्ध बनायो ।
यससँगै नेपाल साँस्कृतिक संस्थानका कलाकारहरूले परम्परागत धिमे बाजा तथा नेवारी साँस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गर्दै नेपालको मौलिक कला–संस्कृति र गहिरो परम्पराको सुन्दर झल्को देखाए । सो अवसरमा नेपाली कलाकारहरुले काठमाडौं उपत्यका, टोखा, कीर्तिपुर, भक्तपुरलगायतका ठाउँलाई झल्काउने नेवारी धिमे बाजाको आकर्षक प्रस्तुति दिएका थिए ।
जापानी ढोलवादन र नेवारी सांगीतिक सम्पदाको सम्मिश्रणले एक अद्वितीय साँस्कृतिक संवाद सिर्जना गर्यो, जसले सहकार्य, एकता र साझा मूल्यहरूलाई प्रतिविम्बित गरेको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले यस्ता साँस्कृतिक पहलहरूले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन र जापानी बजारमा नेपाललाई साँस्कृतिक रूपमा सम्पन्न तथा विविध गन्तव्यका रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पर्यटन र साँस्कृतिक आदान–प्रदानमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
जापानी टोलीका टुर लिडर तथा पर्यटन व्यवसायी फुरी शेर्पाले यो कार्यक्रमले दुबै देशको परम्परागत संस्कृति र संगीतको महत्व उजागर भएको बताउँदै आगामी दिनमा यसको माध्यमबाट पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।


