टानद्वारा घुन्सामा प्रारम्भिक खोज तथा उद्धार तालिम सम्पन्न
काठमाडौं, १५ चैत्र/ ताप्लेजुङको कन्चनजंघा बेसक्याम्प ट्रेल अन्तर्गत पर्ने घुन्सामा प्रारम्भिक खोज तथा उद्धार तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ । स्थानीय सरोकारवाला तथा व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्दै ट्रेकर, सम्बन्धित कामदार तथा स्थानीय उद्यमीहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले सस्टिनेबल टुरिजम प्रोजेक्टसँगको सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो ।
सो तालिममार्फत आधारभूत खोज तथा उद्धार, आपतकालीन जीवनरक्षा सामग्री र सीपसम्बन्धी ज्ञान प्रदान गरिएको टानका सीईओ रामचन्द्र सेडाईले जानकारी दिनुभयो ।
२०८२ चैत्र १० गते देखि १३ गतेसम्म सञ्चालन गरिएको उक्त फक्ताङ्लुङ गाउँपालिकाको घुन्सा, फाले र ग्याब्ला १५ भन्दा बढी स्थानीय सरोकारवाला तथा व्यवसायीहरूको सहभागिता रहेको थियो । तालिममा गाउँपालिकासँगै कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद, स्थानीय प्रहरी, स्वास्थ्य चौकी, होटल तथा लज समिति, टिहाउस सञ्चालक, स्थानीय गाइड, आमा समूहका सदस्य, याक पालक तथा गैर-काष्ठ वन उत्पादन (एनटीएफपी) व्यवसायीहरूको प्रतिनिधित्व रहेको थियो ।
यो तालिमको स्थानीय समन्वय फक्ताङ्लुङ गाउँपालिका वडा नं. १ ले गरेको थियो भने दक्ष प्रशिक्षक सञ्जिव गुरुङको नेतृत्वमा सञ्चालन गरिएको थियो।
तालिम सम्पन्न भएपछि वडा नं. १ को कार्यालयलाई उद्धारका आधारभूत सामग्रीहरू (उद्धार डोरी, सुरक्षा हेल्मेट, प्राथमिक उपचार किट, काराबिनरलगायत) हस्तान्तरण गरिएको थियो ।
घुन्सा गाउँ कन्चनजंघा बेस क्याम्प जाने प्रमुख प्रवेशद्वार हो । यही मार्ग हुँदै यलुङखाङ बेस क्याम्प (सेलेले हुँदै) र ओलाङ्चुङ गोला (नागो ला पास हुँदै) पुग्न सकिन्छ।
टानका यो बीचमा सोही प्रकृतिको तालिम मनास्लु क्षेत्रको सामा तथा खुम्बु क्षेत्रको खरिखोलामा पनि सम्पन्न गरिसकेको छ ।







