पर्यटकलाई पदयात्रा तथा भ्रमण बन्द गराउन पर्यटन विभागको निर्देशन
काठमाडौं, ७ चैत । पर्यटन विभागले शुक्रबारबाट पर्यटकलाई पदयात्रा तथा भ्रमणमा नलैजान सूचना जारी गरेको छ ।विभागले विहीबार एक सूचना जारी गर्दै भनेको छ, ‘हाल विश्वमै तीव्र संक्रमण भइरहेको कोभिड-१९ भाइरसबाट सतर्कता अपनाउनका लागि नेपालको विभिन्न क्षेत्रमा पदयात्रा तथा भ्रमणमा आएका व्यक्तिगत र सामूहिक पदयात्रा कार्यक्रम चैत्र ७ गते दिउँसोदेखि लागू हुनेगरी स्थगत गर्न गराउनु हुन अनुरोध छ ।’
पदयात्राको व्यवस्थान गर्ने सम्पूर्ण ट्राभल तथा ट्रेकिङ एजेन्सीहरुलाई आ-आफ्ना पर्यटकहरुलाई सुरक्षित तवरले सुरक्षित स्थानमा फर्काउने व्यवस्था गर्न पनि ट्राभल तथा ट्रेकिङ एजेन्सीहरुलाई विभागले निर्देशन दिएको छ ।
आफ्ना पर्यटकहरुलाई नेपाल आगमनपश्चात् अनिवार्यरुपमा १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन पनि विभागले आग्रह गरेको छ ।