खालिङ समुदायको ‘ड्रिम प्रोजेक्ट’ सफल हुँदै, ख्याल् तम्रकमको उद्घाटन आगामी बैशाख २७ गते गर्ने घोषणा

काठमाडौं, १७ माघ । खालिङ समुदायले अघि बढाएको सामुहिक संरचना निर्माण गर्ने अवधारणासहितको ड्रिम प्रोजेक्टले गति लिएको छ । हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १ साङ्लामा खालिङ परम्परा, संस्कृति, भाषा, भेषभूषा एवं समग्र सभ्यता झल्किनेगरी ख्याल् तम्रकम (खालिङ मुन्धुम घर) र ख्याल् म्योल् कम (कर्पोरेट हाउस)लगायतको संरचना निर्माण भइरहेको छ ।
हाल किरात खालिङ राई उत्थान संघ, ख्याल् तम्र म्योल् कम निर्माण समिति र ख्यालदेल टोल सुधार समिति गरी तीन वटा माध्यमबाट यस क्षेत्रको बृद्धिविकासको काम भइरहेको छ ।
सोही प्रोजेक्टअन्तर्गत दोस्रो चरणमा निर्माण भइरहेको ख्याल् तम्रकम (खालिङ मुन्धुम घर) को आगामी २०८२ को बैशाख २७ गते औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । मंगलबार सम्पन्न बैठकबाट सो मिति तय गरिएको संघका केन्द्रीय अध्यक्ष बलबहादुर खालिङले जानकारी दिनुभयो । देशविदेश तथा टाढा रहेका सहयोगी दाताहरु र शुभेच्छुक शुभचिन्तक सबैलाई सहभागिता गराउन सकियोस् भन्ने उद्देश्यले तीन महिना अगाडि नै कार्यक्रमको मिति घोषणा गरिएको उहाँले बताउनुभयो ।
तम्रकम (खालिङ मुन्धुम घर)को निर्माण कार्य यो समाचार तयार पार्दासम्म ८५ प्रतिशत सम्पन्न भइसकेको र बाँकी काम उद्घाटन हुनुअगावै सक्ने तयारी भइरहेको निर्माण समितिका कोषाध्यक्ष भुपाल खालिङले जानकारी दिनुभयो ।
पहिलो चरणमा जग्गा पास, फाउण्डेशन निर्माण तथा व्यवस्थापनको काम सम्पन्न भएको थियो । दोस्रो चरणमा हाल तम्रकमसँगै सङकम, चिण्डो प्रतिमा, सौचालय तथा गार्डेनलगायतको संरचना निर्माण भइरहेको हो ।
त्यसपछि ख्याल् म्योल् कम (कर्पोरेट हाउस) निर्माण भने अब तेस्रो चरणमा अघि बढाइने छ । जसका लागि उपलब्ध जग्गा सम्याउने काम भने गरिसकिएको छ ।
किरात खालिङ राई उत्थान संघले आफ्नो मातहतमा ख्याल तम्र म्योल कम निर्माण समिति खडा गरेर यो अवधारणालाई कार्यान्वयन गरिरहेको छ । उक्त ड्रिम प्रोजेक्टलाई पूर्णता दिनका लागि देशविदेशमा बसोबास गर्ने समुदायबीच स्वतस्फुर्त सहयोग र सहभागिताको अभियान चलिरहेको छ ।
सोही अभियानबाट अहिलेसम्म झण्डै १ करोड रुपैयाँ सहयोग र सहभागिता प्राप्त भइसकेको र थप प्रतिबद्धताहरु पनि आइरहेको कोषाध्यक्ष खालिङले जानकारी दिनुभयो । उहाँले दिनुभएको जानकारीअनुसार करिब ३ सय जना व्यक्ति तथा संस्थाबाट उक्त रकम संकलन भएको हो । सहयोगी दाताहरुको नाम सिलालेखमा राख्नुपर्ने भएकाले प्रतिबद्धता जनाउने दाताहरुले उद्घाटनभन्दा १ महिना अगाडि नै कबोलित रकम जम्मा गर्दिनका लागि संस्थाले सार्वजनिक आह्वानसमेत गरेको छ ।
हालसम्म किरात खालिङ राई उत्थान संघ अमेरिका शाखा, यूके शाखा, हङकङ शाखा, दुबई (यूएई) शाखा, कतार शाखा, कुवेत शाखा (पूरानो टिम), मलेसिया शाखा (पूरानो टिम)बाट सहयोग र सहभागिता प्राप्त भएको छ ।
त्यस्तै किरात खालिङ राई उत्थान संघअन्तर्गत मोरङ सुनसरी जिल्ला कार्यसमिति, उदयपुर जिल्ला कार्यसमिति, चितवन जिल्ला कार्यसमिति, खोटाङ जिल्ला कार्यसमितिबाट पनि सहयोग र सहभागिता प्राप्त भइसकेको छ भने खालिङ हाते मालो समुहबाट पनि प्राप्त भएको छ ।
यसबाहेक चालु आर्थिक वर्षको बजेटमार्फत संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयबाट सामुहिक संरचना निर्माणका लागि रु. १८ लाख, तारकेश्वर नगरपालिकाबाट रु. ५ लाख र माप्य दुधकोशी गाउँपालिकाबाट रु. ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । तारकेश्वर नगरपालिकाको बजेट कार्यान्वन प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने बाँकी दुई वटा बजेटको लागि प्रक्रिया अघि बढाइरहेको जनाइएको छ ।
संस्थाको यो संरचनाका लागि आवश्यक झण्डै २ रोपनी भन्दा बढि क्षेत्रफलको जग्गा खालिङ समुदायकै दाताहरुले निशुल्क रुपमा उपलब्ध गराएका हुन् । त्यस्तै हाल निर्माणाधीन ख्याल् तम्र कमको लागि आवश्यक झ्याल ढोकालगायतको कलात्मक रुपमा कुदिएका काठ पनि निशुल्क रुपमा प्राप्त भएको हो ।