Logo

माप्य-खुम्बु मितेरी ट्रष्टको निर्माण कार्य ६ महिनामै सम्पन्न


सोलुखुम्बु । माप्य-खुम्बु मितेरी ट्रष्टको निर्माण कार्य सम्पन्न भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकालाई जोड्ने ओर्लाङघाटस्थित दुधकोशी नदिमा निर्माण गरिएको मोटरेबल ब्रिज ६ महिनामा निर्माण सम्पन्न भएको हो ।

मोटरेबल ब्रिज निर्माणसँगै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका माप्य दुधकोशी गाउँपालिका क्षेत्रवाट सडक सञ्जालमा जोडिएको छ ।

माप्य खुम्बु मितेरी ब्रिजको निर्माणले सोलुखुम्बुको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुर्याउने माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको आशा छ । जेठ १५ मा उद्घाटन गर्ने लक्ष्यका साथ गत मंसिरदेखि निर्माण शुरु गरिएको मितेरी ब्रिज कोरोना संक्रमणका कारण तत्काल उद्घाटन गर्न नसकिएको अध्यक्ष राईले बताए ।

माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको ३÷३ करोड, प्रदेश १ सरकारको २ करोड र संघीय सरकारको १ करोड लगानीमा निर्माण सम्पन्न भएको ब्रिज निर्माणले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयले समृद्ध नेपाल निर्माण सम्भव छ भन्ने प्रमाणित गरेको छ ।

८ करोड ३४ लाख ८० हजारको लागतमा ब्रिज निर्माणको जिम्मा जलप नेपालले प्राप्त गरेको थियो ।

गत मंसिर १३ मा संघीय सांसद हेमकुमार राई, प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले हिन्दु र बौद्ध परम्परा अनुसार पुजा गरी संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : बिहीबार, १५ जेष्ठ २०७७ २०:२५
प्रतिक्रिया दिनुहोस्