तेस्रो तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता ठमेलमा सुरु
काठमाडौं, १४ जेष्ठ / तेस्रो तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगिता यूएस नेपाल क्लाईम्बर्स एसोसिएसन र नेशनल माउन्टेन गाईड एसोसिएसनको संयुक्त आयोजना गरेको हो ।
ठमेलस्थित एस्ट्रेक क्लाइम्बिङ वालमा आजदेखि सुरु भएको प्रतियोगिताको उदघाटन नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले गर्नुभयो ।
यसअघि दुई संस्करणसम्म टप-रोप शैलीमा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक पहिलोपटक लिड क्लाइम्बिङ विधामा सञ्चालन गरिएको आयोजकले जनाएको छ । आयोजक संस्था नेपाल नेशनल माउन्टेन गाईड एसोसिएसनका अध्यक्ष तुलसिङ गुरुङका अनुसार आरोहीहरूले उक्लँदै जाँदा सुरक्षात्मक बिन्दुहरूमा डोरी क्लिप गर्दै अघि बढ्ने लिड क्लाइम्बिङ विधि प्राविधिक रूपमा अझ चुनौतीपूर्ण मानिन्छ, जसले नेपालको प्रतिस्पर्धात्मक क्लाइम्बिङ संस्कृतिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगिताको फाइनल चरण मे २९ मा हुनेछ, जुन दिन १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेको ७३औँ वार्षिकोत्सव अर्थात् एभरेस्ट डेका रूपमा मनाइँदैछ।
पुरुष तथा महिला दुवै विधा समावेश प्रतियोगितामा २७ पुरुष र ११ महिला खेलाडीले सहभागिता जनाएका छन्, जसमा दुई विदेशी प्रतिस्पर्धी पनि रहेका छन् । प्रत्येक विधाका उत्कृष्ट तीन प्रतिस्पर्धीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
निर्णायक मण्डलमा प्रमुख प्रशिक्षक लाक्पा शेर्पा र आइएफएमजीए/एनएमजीएमा आबद्ध पर्वतारोही ज्यामचाङ भोटे र पासाङ लिडर शेर्पा रहेका छन् ।

