प्रमुख पर्यटकीय संस्थाहरूद्वारा युरोपेली संघका राजदूत तथा मिसन प्रमुखहरूसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न
काठमाडौं । नेपालको पर्यटन सम्बद्ध प्रमुख संघसंस्थाहरूले युरोपेली संघ (ईयू) का राजदूत तथा मिसन प्रमुखहरूसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार काठमाडौंको द्वारिका होटल उक्त कार्यक्रम सम्पन्न भएको हो ।
ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान), होटल एसोसिएसन नेपाल (जान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा), नेपाल पर्वतारोहण संघ (एमएमए), एयरलाईन्स अपरेटर्स एसोसिएसन अफ नेपाल (इओएएन) र एक्स्पीडिसन अपरेटर्स एसोसिएसन नेपाल (ईओए) का नेतृत्वहरुको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपालको विशिष्ट पर्यटन सम्भावनालाई युरोपेली बजारमा प्रवर्द्धन गर्ने, नेपाललाई युरोपेली संघको एयर सेफ्टी सूचीबाट हटाउने विषयमा ध्यानाकर्षण गराउने तथा नेपालको पर्यटन क्षेत्रमा युरोपेली लगानी आकर्षित गर्ने विषयमा सकारात्मक छलफल भएको आयोजक संस्था टान सचिवालयले जनाएको छ।
सो अवसरमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न संघसंस्थाले युरोपेली पर्यटक केन्द्रित प्रस्तुतिका साथै नेटवर्किङ लञ्च कार्यक्रमसमेत रहेको थियो ।
कार्यक्रममा काठमाडौंस्थित ३ जना राजदूत तथा भारतको नयाँदिल्लीस्थित २० जना राजदूत वा मिसन प्रमुखसहित युरोपेली मुलुकका कुल २३ जना उच्चस्तरीय प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ । नेपालस्थित युरोपेली संघका प्रतिनिधिमण्डल प्रमुखसहित अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, जर्मनी, डेनमार्क, इस्टोनिया, ग्रीस, स्पेन, फिनल्याण्ड, फ्रान्स, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्विडेन, स्लोभेनिया तथा स्लोभाकियाका राजदूत तथा मिसन प्रमुखहरूको सहभागिता रहेको थियो।

