माप्य दुधकोशी गाउँपालिकाका २१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाका २१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना प्रभावित क्षेत्रबाट यात्रा गरेको आधारमा २१ जनाको स्वाब संकलन गरी पीसीआर टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्र यादबले जानकारी दिनुभयो ।
यादबकाअनुसार वडा नम्बर १ का ७ जना, वडा नम्बर २ का ४ जना, वठा नम्बर ३ (गाउँपालिकाका कर्मचारी तथा शिक्षकसहित)का ६ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर ६ का १ जना गरी जम्मा २१ जनाको पीसीआर टेष्ट गरिएको हो । उनीहरुको पीसीआर गर्नका लागि स्वब संकलन गरी जिल्ला अस्पताल फाप्लुमार्फत पठाइएकोमा मंगलबार रिपोर्ट आएको हो ।
गाउँपालिका स्वस्थ्य शाखाको सिफारिसमा हालसम्म यसरी कोरोना प्रभावित क्षेत्रबाट आवतजावत र संक्रमणको लक्षण देखिएका जम्मा २८ जना व्यक्तिहरुको पीसीआर टेष्ट गरिसकिएकोमा सबैको रिपोर्ट नेगेटिभ नै आएको जानकारी पनि उहाँले दिनुभयो ।
गाउँपालिकाभित्र हाल ६ वटा क्वारेन्टिन र एक वटा आइसोलेसन रहेको छ । जिल्ला बाहिरबाट गाउँपालिका आउने तथा कोरोना संक्रमणको लक्षण देखिएकाहरुलाई क्वारेन्टिन तथा होम क्वारेन्टिनमा राख्ने तथा आरडीटी टेष्ट गर्ने काम पनि गर्ने गरिएको गाउँपालिकाले जनाएको छ ।