माप्य दुधकोशीमा लैंगीक हिंसासम्बन्धि बृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न
सोलुखुम्बु । लैंगीक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत माप्य दुधकोशी गाउँपालिका महिला शाखाले एक दिने मानसिक स्वास्थ्य, कानुनी परामर्श सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । लैंगीक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ शनिबार गाउँसभा हल खास्तापमा व्यापक उपस्थितिबीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष जुनितामाया मगरको अध्यक्षता तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मिंमारडोमा तामाङले मनो चिकित्सासम्बन्धि प्रशिक्षण दिनुभएको थियो भने गाउँपालिका पञ्जीकरण शाखा प्रमुख चन्द्रकला राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले महिला हिंसा सम्बन्धि कार्यक्रम औपचारिकतामा सिमित राखिन नहुने भन्दै त्यसनिम्ति सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सांसद राजभण्डारीले जस्तो सुकै हिंसा जो कोहीबाट पनि भएको खण्डमा नलुकाईकन कानुनअनुसार कडा भन्दा कडा कारबाहीको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । हिंसाजन्य गतिविधि रोक्नका लागि जनचेतना फैलाउनुपर्ने आवश्यकता औल्याउँदै जसका लागि राज्य तहबाट मात्रै नभएर सम्बन्धित सरोकारवालाहरु एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।
माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले महिला सशक्तिकरणका लागि गाउँपालिकाको तर्फबाट हरेक तवरबाट पहल गरिएको बताउनुभयो । हिंसा ठूलो या सानो जस्तो होस्, त्यसलाई निरुत्साहित गर्ने वातावरण बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा उहाँको जोड थियो ।
गाउँपालिकाकी उपाध्यक्ष मगरले महिलाहरु स्वतस्फुर्त रुपमा जागरुक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हिंसा विरुद्धको अभियान मात्रै अभियानको लागि नभएर अब व्यवहारमा लागु गर्नुपर्ने तथा संविधानको उपधारा ३८ लाई तदारुकताका साथ कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।
सो अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष तेजबहादुर थापामगर, वडा नम्बर ३ का वडा अध्यक्ष नारायणकाजी कार्की, वडा नम्बर ४ का वडा अध्यक्ष डबलसिं राई, वडा नम्बर ५ का कार्यबहाक अध्यक्ष जसबहादुर राईलगायतले आआफ्नो वडाको हिंसाजन्य गतिविधिका बारेमा रिपोर्टिङ गर्नुभएको थियो । कार्यक्रममा सातै वटा वडाबाट करिब ३ सय जना महिलाहरुको सहभागिता रहेको थियो ।