Logo

३४ बर्षपछि चेली माइतीको भेट: यसरी पाए नागरिकता !


सोलुखुम्बु । “२०४३ सालमा बुवा बित्नुभयो, बर्खा याममा पानी परिरहेको बेला तीन दिदी बहिनी निस्केर हिडेको आज ३४ बर्षपछि दिदी बहिनीसँग भेट भयो” सोमबार सल्लेरीमा यसो भनिरहँदा खुम्बु पासाङल्हामु गाउँपालिका १ जुभिङ बुक्साका गंगाराम राई भक्कानिए । दिदी बहिनीसँग भेट हुँदा उनको हर्षको सिमा रहेन ।

२०४३ सालदेखि दिदीबहिनीसँग कुनै सम्पर्क नभएका गंगारामले सोमबार मात्रै दिदी बहिनी भेटे । गंगारामले सम्पर्कको पटक पटक प्रयास गर्दा पनि उनले दिदी बहिनीसँग भेट सकेका थिएनन् । तीन दिदी बहिनीसँगको बिछोडको पीडा व्यक्त गर्ने गंगारामसँग कुनै शब्द थिएन ।

३४ बर्षपछि सोलुखुम्बुमा नै आफ्नो माइती भेट्दाको खुशी गंगारामको दिदी बहिनीमा पनि उस्तै थियो । “त्यस बेला हिडि हालियो, ४३ सालदेखि अहिलेसम्मको दुख र पीडाको त के कुरा गर्नु र ?” गंगारामका दिदी सुनमाया राईले भनिन् ।

४३ सालमा जिरी हुँदै काठमाण्डौ पुगेका तीन दिदी बहिनीले काठमाण्डौ गएदेखि नै गलैंचा कारखानामा काम गरेको बताए । गलैंचा कारखानामा लगातार दिनरात काममा व्यस्त हुँदा उनीहरुले काठमाण्डौ कस्तो छ भन्ने समेत ठम्याउन पाएनन् । कारखानाको अध्यारो कोठावाट उनीहरु बाहिर निस्कन नै सकेनन् ।
सुनमाया भन्छिन् “हामी कतै गएनौं, त्यै कारखानामामा नै हाम्रो यत्रो बर्ष बित्यो ।” गलैंचा कारखानामा काम गर्दा गर्दै तीनमध्ये एक बहिनीको मानसिक सन्तुलनमा समेत समस्या आयो, अर्का एक जना समेत बिरामी परे । “दुवै जना त्यस्तो भएपछि मैले बल गरेर काम गरेर दुख सुख पालेको हुँ” सुनमाया भन्छिन् ।

यसरी आइपुगे सोलुखुम्बु !

कारखानामा काम चलिरहेको थियो, तीन जनाले गरेको कामले मुस्किलले खान पुगिरहेको अवस्थामा कोरोनाका कारण लकडाउन भएपछि उनीहरुलाई समस्या भयो । लकडाउनको केही समयपछि कारखानामा काम टुटेको उनीहरुको भनाई छ ।

कारखानामा काम बन्द भएपछि उनीहरु काठमाण्डौ जोरपाटी तिर भौतारिएर हिडें । आफू पनि दुखमा नै बसेका एक जना मनकारी घरबेटीले एउटा कोठा त दिदीबहिनीलाई दिए तर कोठाको अवस्था साह्रै नराम्रो थियो ।

दुई तीन महिना त्यही चिसो कोठामा बिताएपछि दिदी बहिनीको दुख देखेर जोरपाटी तिरका एक जनाले समस्यामा परेकाहरुलाई सहयोग गर्न सक्छन् कि भनेर भाग्य न्यौपानेलाई फोन गरे । फोनामा दुखको कुरा सुनेपछि युट्युबर भाग्य न्यौपाने त्यहाँ पुगे ।

“ओहो, त्यहाँ पुग्दाको अवस्था म बर्णन गर्न सक्तिन, वहाहरु साह्रै दुखले बस्नु भएको थियो” न्यौपाने भन्छन् । घरपरिवारसँग पनि सम्पर्क नभएको र नागरिकता समेत नभएको बुझेपछि उनले एउटा भिडियो बनाएर युट्यवमा अपलोड गरे ।

भिडियो भाइरल बन्यो, धेरैंले शेयर गरे । भिडियोमा उनीहरुले आफूहरुको घर सोलुखुम्बु जुभिङ बुक्सा भनेर भनेपछि जुभिङका स्थानीयले पनि चासो लिए । भिडियो हेर्नासाथ खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष ङिमादोर्जी शेर्पा दिदी बहिनी बसेको कोठा पुगे र उद्दारको लागि पहलकदमी लिए ।

“चिसो कोठा, थोत्रो कपडा, दुर्गन्ध ………….” वहाहरुको कोठामा पहिलो पटक पुग्दा आफ्नो मन रोएको अध्यक्ष शेर्पा बताउँछन् । आफ्नो वडाको नागरिकको दुख सुखमा साथ दिने भन्दै अध्यक्ष शेर्पाले उनीहरुलाई गाउँ फर्काउनका लागि पहल शुरु गरे । उनीहरु बसेकै ठाउँमा खाने बस्ने र लत्ता कपडाका लागि उनले सहयोग पनि गरे ।

“वहाँ गाउँकै हुनुहुँदो रहेछ, हामीलाई थाहा थिएन, तर भाग्य भाइले गर्दा हाम्रो वहासँग भेट भयो र आज हामी माइती भेट्दै सोलु आइपुग्यौं” सुनमाया भन्छिन् । वडा अध्यक्ष ङिमादोर्जी शेर्पाको साथमा सोलुखुम्बु प्रदेश ख का माननीय बुद्धिकुमार राजभण्डारीले समेत तीन दिदीबहिनीको उद्दार कार्यमा सहयोग गरे । स्थानीय, वडा अध्यक्ष, माननीय लगायत सबैको सहयोगले तीनै जना दिदी बहिनी सकुसल सोलुखुम्बु आउन सफल भएको युट्युवर भाग्य न्यौपाने बताउँछन् ।

७३, ६७ र ६५ बर्षको उमेरमा नागरिकता

आफ्नो गाउँ छाडेको ३४ बर्ष भएपनि तीन दिदीबहिनीको उमेर ६५ कटिसकेको थियो । लगनसुबी राई ७३ बर्षकी थिइन् भने सुनमाया राई ६७ र सरीमाया राई ६५ बर्षकी थिइन् । तर उनीहरु कसैसँग नेपाली नागरिकताको प्रमाण पत्र समेत थिएन । सल्लेरी फर्कनासाथ तीनै दिदीबहिनीलाई सबैभन्दा पहिला नागरिकता बनाउने तर्फ वडा अध्यक्ष ङिमादोजी शेर्पाले सहयोग गरे । दिदी बहिनी सल्लेरी आइपुग्दा जुभिङवाट गंगारामसमेत सल्लेरी आइपुगेका थिए ।

आवश्यक प्रक्रिया पुरा गरेर उनीहरु सबैले नागरिकता सोमबार प्राप्त गरे । नागरिकतासँगै राष्ट्रिय परिचय पत्र बनाउने कार्यसमेत सोमबार नै सम्पन्न भयो भने प्रदेश १ नेकपा संसदीय दलका प्रमुख सचेतक एवं सोलुखुम्बु प्रदेश ख का सांसद बुद्धिकुमार राजभण्डारीले आफ्नो निजी खर्चमा स्वास्थ्य बिमा समेत सोमबार नै गरिदिए । नागरिकता र अन्य कागजपत्रको महत्व तीन दिदी बहिनीलाई खासै थाहा नभएपनि उनीहरुले सरकारी सेवा उपभोगका लागि योग्य बनेकाछन् ।

तीन दिदी बहिनीको अवस्थाका बारेमा सामाजिक सञ्जालमा आउनासाथ वडा अध्यक्ष ङिमादोर्जी शेर्पाले लिएको पहलकदमी सह्रानीय छ । उनले आफ्नो व्यक्तिगत खर्चमा उनीहरुका लागि काम गरेकाछन् । प्रदेश माननीय बुद्धिकुमार राजभण्डारी र जिल्ला प्रशासन कार्यालयसँग निरन्तर समन्वय गरेर अध्यक्ष शेर्पाले नागरिक प्रतिको आफ्नो जिम्मेवारी पुरा गर्ने प्रयास गरेकाछन् र उदाहरणीय जनप्रतिनिधीको रुपमा आफूलाई चिनाउन सफल भएकाछन् । सोलुखुम्बु समाचारबाट साभार

प्रकाशित मिति : बिहीबार, २ पुष २०७७ १२:४४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ