म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृष्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृष्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको तीन कोठे भवन निर्माण भएको हो ।
पर्यटन मन्त्रालयबाट प्राप्त रु २७ लाख ५० हजार बजेटबाट ६० जना क्षमताको आश्रयस्थल बनाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । जमिनको सतहसँग मिल्ने गरी बनाइएको आश्रयस्थलको कोठाभित्र बसेर हिमाल, सूर्योदय र पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ । ‘झरी र हिउँ पर्दा सुरक्षित तरिकाले दृष्यावलोकन गर्ने व्यवस्था मिलाउन भूमिगत दृष्यावलोकन केन्द्रसहितको आश्रयस्थल बनाएका हौं’, अध्यक्ष पुनले भने, ‘आश्रयस्थलमा बस्दा बाहिरको तुलनामा न्यानो पनि हुन्छ ।’