Logo

ग्रीन कफीको नाममा ठगी गरेको अभियोगमा रसियन नागरिकसहित २ जना पक्राउ


काठमाडौं । ग्रीन कफी नियमित पिएमा व्यायाम नगरीकन मोटोपन घट्छ भन्दै फेसबुक सहितका सामाजिक सञ्जालमा विज्ञापन गरेर ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले रसियन नागरिक ३० वर्षीय ईगोर कुट्स र पोखरा महानगरपालिका–१९ घर भएका ४२ वर्षीय आशिष आचार्यलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरुले नेपाली बजारमा ९ सय ६० रुपैयाँ प्रतिकेजीमा ‘ग्रीन कफी’ खरिद गरेर ४० हजार सम्ममा बेचेर ठग्ने गरेको थाहा भएको छ । ‘भ्रमपूर्ण विज्ञापन गरेर वास्तविक मूल्यभन्दा धेरै गुणा महङ्गोमा ग्रीन कफी बेचेर ठगेको अनुसन्धानबाट थाहा भएको छ’ केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीसँग भने–‘आरोपीले अहिलेसम्म ७ करोडको बिक्री गरेको देखिन्छ ।’

एक सातामा १३ किलो तौल घट्ने भन्दै उनीहरुले विज्ञापन, लेख, ब्लग र सामाजिक सञ्जालबाट ग्राहकलाई तान्ने गरेका थिए । ‘टिम वान सप्लायर्स प्रालि’को ब्यानरमा उनीहरुले ठग्थे । उनीहरुले बेच्न तयार गरेको ग्रीन कफी प्रहरीले बरामद गरेको छ ।

रसियन नागरिक समेतबाट आफु ठगिएको भन्दै पीडितले केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुर गरेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । आरोपितविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको डीआईजी थापाले रातोपाटीलाई बताए ।

प्रकाशित मिति : शुक्रबार, ६ चैत्र २०७७ १८:३८
प्रतिक्रिया दिनुहोस्