एमाले सोलुखुम्बुका पूर्व अध्यक्ष राई केन्द्रीय सदस्यमा मनोनित

सोलुखुम्बु – नेकपा (एमाले) सोलुखुम्बु जिल्लाका पूर्व अध्यक्ष मानबीर राई केन्द्रीय सदस्यमा मनोनित भएका छन् । विधानातः ५ प्रतिशत थप केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्थाअनुसार राजधानीमा जारी केन्द्रीय कमिटी बैठकबाट राईलाई मनोनित गरिएको हो ।
एमाले इतिहासमै केन्द्रीय कमिटीमा सोलुखुम्बुबाट प्रतिनिधित्व भएको यो पहिलो पटक हो । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २, ठूलोढुंगामा जन्मिएका राईले लामो समयदेखि एमाले सोलुखुम्बु जिल्लाको विभिन्न पदीय जिम्मेवारीमा रहेर काम गरेका छन् ।
२०४२/४३ सालदेखि विद्यार्थी संगठनबाट राजनीति सुरुवात गरेका राइर्ले स्वच्छ र इमान्दार राजनीतिकर्मीको रुपमा आफ्नो परिचय बनाएका छन् ।
२०४२/४३ सालमा खरिखोला निमावि र जुनवेशी माविमा गठित अनेरास्ववियू प्रारम्भिक कमिटीमा रहेर जिम्मेवारी निर्वाह गरेका राईले २०४६/४७ मा अखिल नेपाल किसान संघको जिल्ला सदस्यमा रहेर काम गरे । एमालेको दोस्रो जिल्ला अबिधेशनबाट राई उपसचिवमा दोहोरिए । तेस्रो जिल्ला अबिधेशनपछि सचिवालय सदस्य बनेका उनी चौथो जिल्ला अबिधेशनपछि पुनःउपसचिव पदमा निर्वाचित बने ।
पाँचौ जिल्ला अबिधेशनबाट उपाध्यक्ष बनेका राईले सोही कार्यकालमा केही समय कार्यवाहाक अध्यक्ष जिम्मेवारी समेत सम्हाले । छैठौ जिल्ला अबिधेशनबाट अध्यक्षमा निर्वाचित राई तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको एकतापछिको नेकपामा पनि जिल्ला पार्टी अध्यक्ष बने ।
नेकपामा किचलो आएपछि अध्यक्ष केपी ओलीको पक्षमा देखिएका राई सोही बेला केन्द्रीय सदस्यमा मनोनित भए । त्यसपछि उनले जिल्ला अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डुफ कुमार बास्तोलालाई सुम्पिए । तर अदालतको फैसलाले नेकपालाई मान्यता दिएन ।
जेठ २ मा पार्टी फर्केने भएपछि पुनःएमाले सोलुको अध्यक्ष बनेका राईले दुई वटा बैठकको अध्यक्षता गरे । त्यसपछि उनले राजिखुसी अध्यक्ष पदबाट राजिनामा दिएका थिए । राईको राजिनामाले उपाध्यक्ष बास्तोलालाई अध्यक्ष बन्न ढोका खोलिदिएको थियो । त्यसपछि राईलाई पार्टीले प्रदेश सदस्यको भूमिका दिएको थियो ।
केन्द्रीय सदस्य बन्ने गरि जिल्लाका नेताहरुबीच सहमतीको वातावरण बनाएर चितवनमा सम्पन्न १० औँ महाधिबेशनमा पुगेका राईले निर्वाचन लडेनन् । मनोनित गर्ने आश्वासन पाएका उनले उम्मेदवारी दिएनन् ।