Logo

माओवादीको केन्द्रीय सदस्यमा सोलुखुम्बुका कर्ज्याङ शेर्पाको सशक्त दाबी, को हुन् शेर्पा ?


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सदस्य पदमा पार्टी सोलुखुम्बु जिल्ला समन्वय समिति अध्यक्ष गोम्बु शेर्पा(कर्ज्याङ)ले दाबेदारी प्रस्तुत गर्नुभएको छ । सहमतीय वा निर्वाचन जुनसुकै प्रक्रियाबाट भएपनि पार्टी केन्द्रीय सदस्यमा आफ्नो सशक्त दाबेदारी रहेको शेर्पाले बताउनुभयो ।

सोलुखुम्बु जिल्लामा सोताङ गाउँपालिकामा जन्मिनुभएका शेर्पाले २०५३ सालमा १६ बर्षको उमेरमा अनेरास्ववियुबाट राजनीति जीवन शुरूवात गर्नुभएको थियो । मावि इकाई सदस्य, इकाई उपाध्यक्ष हुँदै ईलाका समिति सदस्य हुनुभएका शेर्पा २०५८ सालमा अखिल (क्रान्तिकारी), सानोठिमी क्याम्पस ईकाइ समिति सचिबको रुपमा जिम्मेवारी सम्हाल्नुभयो ।

२०५८ सालकै भदौ महिनामा सानोठिमी क्याम्पस होस्टेलबाट गिरफ्तार भई ४ दिन जिल्ला प्रशासन कार्यालय भक्तपुर हिरासत पर्नुभएका उहाँ राजनीतिक क्रियाशिलताकै क्रममा २०५९ ज्येष्ठदेखि २०५९ चैत्रसम्म १० महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताउनुभएको थियो । राजनीतिक थप सशक्त बनाउँदै लैजाने क्रममा उहाँ २०६० मा बैशाखमा अखिल (क्रान्तिकारी) भक्तपुर जिल्ला समिति सदस्य र नेकपा(माओवादी)को संगठित सदस्य हुँदै ईलाका समिति सदस्य बन्नुभएको थियो ।

२०६० असोजमै आफ्नो जन्मभुमि सोलुखुम्बु आउनुभएका उहाँ नेकपा(माओवादी)को सोलुखुम्बु जिल्ला समिति सदस्य एवं अखिल (क्रान्तिकारी), सोलुखुम्बु जिल्ला समिति उपाध्यक्ष हुनुभयो । २०६० मंसिरदेखि २०६२ सम्म नेकपा(माओवादी)द्वारा संचालित रेडियो जनगणतन्त्र पूर्वी प्रसारण सेवा पार्टी जिल्ला सदस्य हुँदै जिल्ला सचिवालय सदस्यसमेत बन्नुभएको थियो उहाँ ।

२०६२ सालमा पार्टीको सोलुखुम्बु (पिके आधार) जिल्ला सेक्रेटरी, २०६४ सालमा पार्टीको सोलुखुम्बु जिल्ला सह–ईन्चार्ज, २०६६ सालमा एकीकृत नेकपा(माओवादी)को किरात राज्य सचिवालय सदस्य बन्नुभएका शेर्पा २०६६ सालमै पार्टीको तर्फबाट शेर्पा स्वायत्त प्रदेश निर्माण आन्दोलन समन्वय समितिको संयोजक बन्नुभयो ।

२०६८ सालमा पार्टीको सोलुखुम्बु जिल्ला ईन्चार्जको जिम्मेवारी सम्हाल्नुभएका उहाँले २०७० मा पार्टीको तर्फबाट संविधानसभा सदस्य उम्मेदवार बन्नुभएको थियो । उक्त निर्वाचनमा उहाँ पराजित हुनुभयो ।

त्यसपछि २०७१ मा पार्टीको सोलुखुम्बु जिल्ला अध्यक्ष बन्नुभएको उहाँ २०७३ मा नेकपा(माओवादी केन्द्र) केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य, २०७४ मा पार्टीको सोलुखुम्बु जिल्ला संयोजक, २०७६ मा तत्कालीन माओवादी केन्द्र र एमाले एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ नं प्रदेश कमिटी सदस्य एवं सोलुखुम्बु जिल्ला सचिव हुदै २०७८ मा नेकपाका सोलुखुम्बु जिल्ला अध्यक्ष बन्नुभयो ।

इमानको राजनीतिक गर्ने बैचारिक नेतृत्वका रुपमा आफ्नो परिचय बनाउनुभएका शेर्पा प्रखर बक्ताको रुपमा पनि चिनिन्छ । शेर्पालाई चिन्नेहरु जोकसैले वास्तबिक सर्बहारा बर्गको नेता अर्थात वास्तबिक माओवादी व्यक्तित्व र जिवन शैली उहाँमा देख्ने गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, १६ पुष २०७८ १४:००
प्रतिक्रिया दिनुहोस्