थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई प्रदेश समन्वय परिषदमा मनोनित
नेकपा (माओवादी केन्द्र) यूवा नेता तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई प्रदेश समन्वय परिषद सदस्यमा मनोनित हुनुभएको छ । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्वन्ध ) ऐन २०७७ को दफा २४ बमोजिम सोलुखुम्बु जिल्लाको सबै स्थानीय तहका जनप्रतिनिधिहरुको प्रतिनिधित्व गर्नेगरी उहाँलाई प्रदेश समन्वय परिषद्को सदस्यमा मनोनित गरिएको हो ।
दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष राई अघिल्लो पाँच वर्षे कार्यकालमा पनि अर्थमन्त्रीको अध्यक्षतामा गठित विषयगत समितिमा देशैभरीको पालिका प्रमुखहरुको प्रतिनिधित्व गर्दै समितिको सदस्य भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
मुख्यमन्त्रीको अध्यक्षतामा गठित प्रदेश समन्वय परिषदको अन्य सदस्यमा इलामको इलाम नगरपालिकाका प्रमुख केदारबहादुर थापा, झापाको दमक नगरपालिकाका प्रमुख राम थापा,ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम, विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निरौला कार्की मनोनित हुनुभएको छ ।
त्यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरी, धनकुटाको छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गीता खेवा गुरुङ, तेहृथुमको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्वु, संखुवासभाको धर्मदेवी नगरपालिका उपप्रमुख तारा महत, भोजपुरको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदास, जिल्ला समन्वय समिति उदयपुरको प्रमुख गौरबहादुर विश्वकर्मा, खोटाङको केपीलासगढी गाउँपालिका उपाध्यक्ष गुरुराज राई, ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापालाई पनि सदस्यमा मनोनित गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।