माप्य दुधकोशी गाउँपालिकामा वडा भवन धमाधम बन्दै, यस्तो बन्दैछ वडा १ र ५ को भवन !
सोलुखुम्बु, ३० साउन । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ र ५ को आफ्नै स्वामित्वको प्रशासनिक भवन निर्माण कार्य अघि बढिरहेको छ । जिल्ला समन्वय समिति, सोलुखुम्बुको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा दुई वटा वडाको पक्की भवन निर्माण भइरहेको हो ।
सबैभन्दा अगाडि सुरु भएको वडा नम्बर ५ को भवन निर्माणको काम हालसम्म ६० प्रतिशत सम्पन्न भइसकेको वडा अध्यक्ष अविरल वाईबाले जानकारी दिनुभयो । उहाँले दिनुभएको जानकारीअनुसार अहिलेसम्म भवनको पहिलो तल्लाको ढलान सकिएर दोस्रो तल्लाको ढलान गर्ने चरणमा पुगेको छ ।
चालु आर्थिक वर्षको बजेटको वडा सिलिङबाट केही बजेट विनियोजन गरिएको र थप बजेट व्यवस्थापनका लागि गाउँपालिका तथा जिल्ला समन्वय समितिसँग समन्वय गरेर कमसेकम यसै आर्थिक वर्षभित्र भवन निर्माणको कामलाई पूर्णता दिइने अध्यक्ष वाईवाले बताउनुभयो । नियमित सेवा प्रवाहसँगै प्रशासनिक भवन निर्माणलाई विशेष प्राथमिकतामा राखेर आफुहरुले काम गरिरहेको भनाइ उहाँको छ ।
यसैगरी वडा नम्बर १ को पक्की भवन निर्माणको कामलाई पनि अहिले तीब्र रुपमा अघि बढाइएको छ । वडा नम्बर १ को भवन निर्माणको काम ४० प्रतिशतभन्दा बढि सम्पन्न भएको वडा अध्यक्ष सज्जन राईले जानकारी दिनुभयो । वडाको प्रवेशद्धारमा निर्माणाधिन भोकखोलाको पुलका कारण बीचमा निर्माण सामाग्री ढुवानीमा केही समस्या भएकोले वडा कार्यालय निर्माणमा केही ढिलाई भएको उहाँले बताउनुभयो । यसै आर्थिक वर्षभित्र वडा कार्यालय निर्माणको काम सम्पन्न गरेर आफ्नै सुविधा सम्पन्न भवनमार्फत सेवा प्रवाह गर्नेगरी आफुहरु लागिरहेको भनाइ उहाँको पनि रहेको छ ।
गोल्डेन स्टार नामक कम्पनीले निर्माणको जिम्मेवारी लिएको भवन निर्माण कार्य यही आर्थिक वर्षभित्र सक्ने लक्ष्य छ । वडा नम्बर १ र ५ बाहेक वडा नम्बर ७ को भवन निर्माणको प्रक्रिया अघि बढिसकेको र वडा नम्बर २, ३ र ४ को प्रशासनिक भवन निर्माणका लागि जग्गा व्यवस्थापनलगायतको काम भइरहेको बुझिएको छ ।
वडाहरुको आफ्नै भवन नहुँदा हाल भाडा तिरेर वडाको सेवा प्रवाह गर्नुपरिरहेको छ ।