संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस सोलुखुम्बु आउने
सोलुखुम्बु – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सोमबार पर्यटकीय जिल्ला सोलुखुम्बु आउनुहुने भएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस जलवायु परिवर्तन र पर्यटनको विषयमा छलफल गर्न बिहान ७ बजे खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङमा आउने कार्यक्रम रहेको बुझिएको छ ।
नेपाली सेनाको २ वटा एमआई सेबेन्टिन हेलिकप्टर मार्फत परराष्ट्र मन्त्रालय र संयुक्त राष्ट्रसघंका गरी २४ जनाको टोलि होटल एभरेस्ट भ्यूमा ओर्लिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । लगत्तै महासचिव गुटेरेससहितको टोली करिब आधा घण्टा इम्जा ताल क्षेत्रको अवलोकनका लागि माउन्टेन फ्लाईट गर्ने खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।
त्यस पश्चात होकटल एभ्रेष्ट भ्यूमा आई जलवायु परिवर्तन र पर्यटनको विषयमा छलफल गर्ने कार्यतालिका तय भएको वडाध्यक्ष अधिकारीले बताउनुभयो । महासचिव गुटेरेस करिब २ घण्टा खुम्बु क्षेत्रमा विताएर पुनः काठमाडौं फर्कने कार्यक्रम रहेको छ । चारदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आईपुग्नुभएको हो ।
राति एक बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएका उहाँलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गर्नुभएको थियो । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित पनि थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।