Logo

काठमाडौंमा माप्य दुधकोशी गाउँपालिकाको एकीकृत सेवा शिविर सम्पन्न, १५ सय ९६ जना नागरिक लाभान्वित


काठमाडौं, २४ साउन । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले संघीय राजधानी काठमाडौंमा सञ्चालन गरेको दुईदिने एकीकृत सेवा शिविरबाट १ हजार ५९६ जना नागरिक लाभान्वित भएका छन् । अध्ययन, रोजगारी तथा विभिन्न सिलसिलामा काठमाडौंमा बसोबास गरिरहेका माप्य दुधकोशी गाउँपालिकाका नागरिकले गाउँमै पाइने स्थानीय तहका सेवा प्राप्त गरेका हुन् ।

२०८३ साउन २३ गते शनिबार र २४ गते आइतबार सुकेधारामा अवस्थित नवदुर्गा पार्टी भेन्यूमा सञ्चालन गरिएको शिविरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, घटना दर्ता, राष्ट्रिय परिचयपत्र वितरण, विभिन्न सिफारिस, मालपोतलगायतका सेवा प्रदान गरिएको थियो ।

माप्य दुधकोशी गाउँपालिकाका प्रवक्ता अमित राईका अनुसार शिविरमा सामाजिक सुरक्षा भत्ता तथा अन्य नवीकरणसम्बन्धी ३९७, घटना दर्ता २४३, विभिन्न सिफारिस ३८७, मालपोतसम्बन्धी ३८८, वर्गीकरण १७७ र विविधतर्फ ४ जनाले सेवा लिए ।

गाउँपालिकाले विगतका वर्षदेखि नै काठमाडौंमा यस्ता सेवा शिविर सञ्चालन गर्दै आएको छ । गाउँपालिकाका नागरिकलाई सहज, सरल र पहुँचयोग्य ढंगले सेवा प्रवाह गर्ने उद्देश्यले आवश्यकता र मागका आधारमा सेवा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौंमा सञ्चालन गरिएको शिविरले विशेषगरी सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि बायोमेट्रिक प्रणाली अनिवार्य गरेपछि सम्बन्धित निकायसम्मै पुग्नुपर्ने बाध्यता भएका ज्येष्ठ नागरिक, असहाय, अशक्त, बालबालिकालगायत सेवाग्राहीलाई सहजता प्रदान गरेको छ ।

२ हजार भन्दा बढिको उपस्थिति रहेको सो शिविरलाई जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्की, पूर्व रक्षामन्त्री मानबीर राई, सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत, नेचा सल्यान गाउँपालिका उपाध्यक्ष विना राईलगायतले समेत स्थलगत अवलोकन गर्नुभएको थियो ।

यसैबीच, शेर्पा समाज माप्य दुधकोशीले काठमाडौंमा सेवा शिविरमार्फत सबैलाई सहज सेवा प्रवाह गरेकोमा गाउँपालिका टिमलाई धन्यवाद ज्ञापन गरेको छ । शिविर सकिएपछि समाजका अध्यक्ष सार्की शेर्पा नेतृत्वको टिमले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षलगायत कार्यपालिका टिम र सिंगो कर्मचारी टिमलाई खाँदा लगाएर सम्मान तथा धन्यवाद दिएको हो ।

 

प्रकाशित मिति : आईतवार, २४ श्रावण २०८३ २१:०६
प्रतिक्रिया दिनुहोस्