टानद्वारा पर्यटनमन्त्री पौडेलसँग पर्यटन तथा पदयात्रा क्षेत्रको दिगो विकास केन्द्रित महत्वपूर्ण छलफल
काठमाडौं, ५ साउन । ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान) ले नेपालको पर्यटन तथा पदयात्रा क्षेत्रको दिगो विकासलाई केन्द्रमा राखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गप्रसाद पौडेलसँग महत्वपूर्ण छलफल गरेको छ ।
टान अध्यक्ष सागर पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री पौडेलसँग पदयात्रा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, पर्यटकको सुरक्षा अभिवृद्धि गर्ने तथा तथ्यांक व्यवस्थापनलाई सुदृढ गर्नका लागि ट्रेकर इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) को प्रभावकारी कार्यान्वयनबारे छलफल गरेको हो ।
त्यसैगरी, नेपालको विश्वप्रसिद्ध पदयात्रा मार्गहरूको संरक्षण, विद्यमान पदमार्गहरूको अनावश्यक विनाश रोक्ने, क्षतिग्रस्त मार्गहरूको पुनःस्थापना गर्ने तथा सबै सरोकारवालाको सक्रिय सहभागितामार्फत जिम्मेवार पदयात्रा प्रवर्द्धन गर्ने उद्देश्यले प्रस्तावित ‘विशेष पदयात्रा ऐन’ को मस्यौदामाथि पनि छलफल भएको टानले जनाएको छ ।
यसैबीच, टानले नेपाल पर्यटन बोर्ड (एनटीबी)मा निजी क्षेत्रतर्फबाट नवनियुक्त बोर्ड सदस्यहरू तथा बोर्डका निर्देशकहरूसँग पनि विषय केन्द्रित छलफल गरेको छ । बैठकमा टान, एनटीबी र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै प्रभावकारी पर्यटन प्रवर्द्धनका लागि बजेट निर्माण गर्ने तथा टिम्सको तत्काल कार्यान्वयनका लागि कार्ययोजना तयार गर्ने विषयमा सहमति भएको बताइएको छ ।
त्यस्तै टान, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र नेभर रेस्टबीच सगरमाथा क्षेत्रमा बढ्दो पदयात्री तथा पर्यटकको प्रभावलाई तथ्यांकमा आधारित अध्ययन गर्ने पाइलट परियोजना सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको छ।
उक्त परियोजनामार्फत संकलन हुने विश्वसनीय तथ्यांकले सगरमाथा क्षेत्रमा दिगो पर्यटन योजना निर्माण, पर्यटक व्यवस्थापन तथा जिम्मेवार गन्तव्य विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
छुट्टाछुट्टै समयमा भएको भेटघाट तथा छलफलमा टानका अध्यक्ष पाण्डेसहित बरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, महासचिव सोनाम ग्याल्जेन शेर्पा, सहकोषाध्यक्ष लाक्पा तेम्बा शेर्पा, सीईओ रामचन्द्र सेडाई, टान गण्डकी शाखाका अध्यक्ष कृष्णप्रसाद आचार्य, कार्यसमिति सदस्यहरु अम्बर गुरुङ, पवित्रा तामाङ, राजेन्द्र अम्गाईलगायत रहेका थिए । 


