तल्लो सोलुमा माउन्टेन बाइकिङ पर्यटनको लहर, ४३ माइल ट्रेल सञ्जाल विस्तार
काठमाडौं । सोलुखुम्बुको तल्लो क्षेत्रमा माउन्टेन बाइकिङ पर्यटन तीव्र गतिमा विस्तार हुँदै गएको छ । स्थानीय युवालाई खेलकुद र पर्यटनसँग जोड्ने उद्देश्यले स्थापना गरिएको फाप्लु माउन्टेन बाइक क्लबको पहलले तल्लो सोलु क्षेत्रमा साहसिक पर्यटनको नयाँ सम्भावनाको ढोका खोलेको हो ।
सन् २०२३ देखि विकास गर्न थालिएको रात्नाङ्गे ट्रेल सेन्टर अहिले ४३ माइल लामो माउन्टेन बाइकिङ ट्रेल सञ्जालमा विस्तार भइसकेको छ । सन् २०२५ मा तीन नयाँ ट्रेल थपिएका छन् भने थप दुई ट्रेल निर्माणाधीन छन् ।
यस क्षेत्रमा माउन्टेन बाइकिङ अनुभव गर्न चाहने पर्यटकका लागि विभिन्न प्याकेज उपलब्ध छन् । नेपाली स्वामित्वको बेयुल एक्स्पेरियन्सले आधा दिनको माउन्टेन बाइकिङ भ्रमणसँगै योग रिट्रिट, सांस्कृतिक भ्रमण, पदयात्रा तथा एभरेष्ट हिमशृंखलाको हेलिकोप्टर अवलोकन कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस्तै, साहसिक माउन्टेन बाइकिङमा रुचि राख्नेहरूका लागि एन्डुरो एमटीबी नेपालले १४ दिने विशेष प्याकेज सञ्चालन गरिरहेको छ । उक्त प्याकेजमा सोलुखुम्बुका विभिन्न ट्रेलमा बाइकिङका साथै स्थानीय समुदायसँग होमस्टेमा बसोबास गर्ने अवसरसमेत समावेश गरिएको छ ।
पर्यटकलाई स्थानीय होमस्टेमा बस्न प्रोत्साहन गरिँदै आएको छ। यसबाट स्थानीय अर्थतन्त्र सुदृढ हुनुका साथै स्याक्पा, ममलगायत परम्परागत नेपाली परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ ।
पछिल्लो समय रात्नाङ्गेसँग जोडिएको माप्य दुधकोशी गाउँपालिका तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले प्रवर्द्धन गरिरहेको एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग क्षेत्रमा समेत माउन्टेन बाइकिङको सम्भाव्यता अध्ययन र नयाँ ट्रेल विस्तारको काम अघि बढाइएको छ । यसले तल्लो सोलुलाई पदयात्रासँगै माउन्टेन बाइकिङका लागि पनि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
सोलुखुम्बुको माउन्टेन बाइकिङ गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा समेत ध्यान आकर्षित गर्न थालेको छ । हरेक वर्ष डिसेम्बरमा आयोजना हुने एन्डुरो रात्नाङ्गे प्रतियोगिताले ओलम्पिक स्तरका साइकल खेलाडीसमेत आकर्षित गर्न थालेपछि तल्लो सोलु नेपालकै उदीयमान साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।


