आरोग्य पर्यटन प्रवर्द्धनका लागि टान र एनआईबीबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । समग्र पदयात्रा व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान) र नेपाल इन बिजनेस ग्रोथ एडभाईजर्स (एनआईबी)को बीचमा आरोग्य पदयात्रा परिपथहरुको विकास, प्याकेजिङ तथा प्रवर्द्धनका लागि संस्थागत समझदारी पत्रमा हस्ताक्षर भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा तयार गरी लागु गरिएको राष्ट्रिय आरोग्य पर्यटन रणनीति (सन् २०१६ देखि २०३५ सम्म) तथा कार्ययोजना (सन् २०२६ देखि २०३० सम्म) ले पहिचान गरेका रणनीतिक आरोग्य गन्तव्यहरु मध्ये उच्च हिमाली क्षेत्र अन्तर्गत पदयात्रा गन्तव्यहरुमा आरोग्य पदयात्रा परिपथको विकास तथा प्रवर्द्धन गर्न सो समझदारी भएको हो ।
समझदारी पत्रमा टानका तर्फबाट अध्यक्ष सागर पाण्डे र एनआईबीका तर्फबाट टिम लिडर रतिश बस्न्यातले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर कार्यक्रममा टानका महासचिव सोनाम ग्याल्जेन शेर्पा, प्रमुख कार्यकारी अधिकृत राम चन्द्र सेढाई, एनआईवीका सेक्टर विज्ञ कञ्चन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
एनआईबी बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा दाई ग्लोबल यूके लिमिटेडद्धारा सञ्चालित संस्था हो । उसले राष्ट्रिय आरोग्य पर्यटन रणनीति निर्माण गर्न तथा सो को कार्यान्वयर्नका लागि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा विभिन्न सरोकारवाला निकाय एवं व्यवसायीहरुसँग सहकार्य तथा सहलगानी गर्दै आइरहेको छ ।
समझदारी पत्र बमोजिम राउण्ड अन्नपूर्ण पदयात्रा परिपथलाई आरोग्य पदयात्रा परिपथको रुपमा ब्राण्डिङ्ग र प्याकेजिङ गरी प्रवर्धन गरिनेछ । जस अन्तर्गत अन्नपूर्ण पदयात्रा परिपथमा रहेका आरोग्य पर्यटनका ४ वटा मुख्य वस्तु तथा सेवाहरु, जस्तै योग तथा ध्यान, आध्यात्मिक तथा प्राकृतिक उपचार, आयुर्वेद तथा सोवा रिग्पा र स्पा तथा मसाज लगायतका स्रोतहरुको सूचि तयार गरि सम्भाव्य आरोग्य उत्पादन तथा क्रियाकलापहरुको पहिचान गरी बिभिन्न प्याकेज तथा आइटीनरीहरु तयार डिजाइन गरिनेछ । उक्त परिपथलाई आरोग्य पदयात्रा परिपथको रुपमा ब्राण्डिङ गरिनेछ ।
गन्तब्य, क्षेत्रीय तथा राष्ट्रिय स्तरका सरोकारवाला निकायहरुबाट सुझाव एवं संग पृष्ठपोषण लिई सकेपछि एजेन्सी, गाइड तथा आरोग्य सेवा प्रदायीहरु सँस्थाका प्रतिनीधिहरुलाई आरोग्य पदयात्रा परिपथको बारेमा अभिमूखिकरण कार्यक्रम सञ्चालन गरी सन् २०२७ को शुरुबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारहरुलाई लक्षित गरि प्रवर्द्धन र बजारीकरणका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
अन्नपूर्ण आरोग्य पदयात्रा परिपथको सफल सिकाइका आधारमा देशका अन्य पहाडी र हिमाली गन्तव्यहरु जस्तै लिमी उपत्यका, रारा, डोल्पा, मनास्लु, लाङटाङ, हेलम्बु, लप्ची, रोल्वालिङ, खुम्बु, खेमपालुङ (अरुण), कञ्चनजंघा लगायतका गन्तव्यहरुमा पनि क्रमश आरोग्य पदयात्रा परिपथहरु, उत्पादनहरु र क्रियाकलापहरु पहिचान, विकास र प्रवर्धन गरिदै लगिने छ ।
समझदारी पत्रअनुसार एनआईबीसँगको सहकार्यमा आरोग्य पदयात्रा परिपथको अध्ययन, ब्राण्डिङ, प्याकेजिङ र प्रवर्द्धनका लागि टानले पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, प्रदेशका मन्त्रालयहरु, संरक्षण क्षेत्रका व्यवस्थापन निकायहरु, स्थानीय सरकारहरु, पर्यटन छाता संगठनहरु, आरोग्य पर्यटनसंग प्रत्यक्ष सरोकार राख्ने अन्य निकायहरु, व्यवसायीहरु, स्थानीय समुदायहरु आदिसँग आवश्यक समन्वय, सहकार्य र साझेदारी गर्नेछ ।
नेपाललाई उत्कृष्ठ अन्तर्राष्ट्रिय आरोग्य गन्तब्यका रुपमा स्थपित गर्ने महत्वकांक्षी लक्ष्य अनुरुप नेपाल सरकारको अग्रसरतामा संयुक्त राष्ट्र संघले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवशका रुपमा घोषणा गरिसकेको छ भने नेपाल सरकारले आ.व. २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेट मार्फत सन् २०२७ लाई नेपाल आरोग्य वर्षको रुपमा मनाउने अभियानको घोषणा गरिसकेको छ । सोही अनुरुप बिभिन्न तयारीका कार्यक्रमहरु समेत शुरु भईसकेका छन् ।


