Logo

शेर्पा पर्यटन व्यवसायी संघ नेपालले भव्य रुपमा मनायो आफ्नो स्थापना दिवस


काठमाडौं । शेर्पा पर्यटन व्यवसायी संघ नेपाल (एसटीन) ले आफ्नो नवौं स्थापना दिवस (एसटीन डे) भव्य रूपमा मनाएको छ । शुक्रबार काठमाडौंको कालोपुलस्थित लिला गार्डेनमा आयोजित ‘एसटीन डे एन्ड कल्चरल पर्फर्मेन्स-२०२६’ सँगै ‘स्टियन संवाद–२०२६’ समेत सम्पन्न भएको हो ।

प्यानल डिस्कसनका रूपमा सञ्चालन गरिएको संवादमा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा, नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव सोनाम ग्याल्जेन शेर्पा, सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पा तथा नेपाल माउन्टेन गाइड एसोसिएसन (एनएमजीए) का उपाध्यक्ष लाक्पा शेर्पा प्यानलिस्टका रूपमा सहभागी हुनुभएको थियो।

संवादका क्रममा वक्ताहरूले पर्वतीय तथा पदयात्रा पर्यटनको गुणात्मक विकासका लागि नीतिगत सुधार, डिजिटल प्रविधिमैत्री पर्यटन प्रवर्द्धन र दक्ष जनशक्ति उत्पादन लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

एसटीनका अध्यक्ष पासाङ शेर्पाले कार्यक्रमले शेर्पा संस्कृति, पर्यटन प्रवर्द्धन, नवप्रवर्तन तथा पर्वतीय पर्यटनमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान गर्दै पर्यटन व्यवसायीबीच सहकार्य, एकता र आपसी सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गरिएको थियो भने सांस्कृतिक प्रस्तुति र डीजे सेसनमार्फत सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो । गायक आस्मान लामा, छोदावा शेर्पा, पाल्मु शेर्पा, नबिन दाहाल तथा डीजे न्वावाङले प्रस्तुति दिएका थिए।

 

तीन चरणमा सम्पन्न कार्यक्रमको औपचारिक सत्र सञ्चालन एसटीन महासचिव सोनाम याङ्जी शेर्पाले गर्नुभएको थियो। प्यानल डिस्कसनको सहजीकरण सचिव छोकी शेर्पाले गर्नुभएको थियो भने सांस्कृतिक तथा डीजे सेसन उद्घोषिका डोल्मा छिरिङ शेर्पाले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, २ श्रावण २०८३ ०९:४७
प्रतिक्रिया दिनुहोस्