दश महिनामा ८ लाख बढि पर्यटकले नेपाल घुमे, अक्टोबरमा मात्रै १ लाख १७ हजार
काठमाडौं । नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बृद्धि भएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको ध्यागमन विभागको तथ्यांकअनुसार एक महिना मै १ लाख १७ हजार ३०६ जना नेपाल घुम्न आएका छन् ।
सन् २०२३ को अक्टोबरमा सो संख्यामा पर्यटक नेपाल आएका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या थियो । यो रेकर्ड यस वर्ष तोडिएको हो ।
अक्टोबर महिनामा गैरआवासीय नेपालीको जमघट नेपालमा हुन्छ । उनीहरुसमेत नेपाल आउँदा पर्यटकका रुपमा गणना हुन्छ । यो सम्मेलनको प्रभाव समेत यस महिनामा परेको देखिन्छ ।
नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२२ मा ५२ हजार १२१, २०२१ मा १५ हजार ७१५ र सन् २०२० मा १ हजार ८३१ जना पर्यटक नेपाल आएका थिए । यस महिनामा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० जना पर्यटक नेपाल आएका छन् ।
दोस्रो स्थानमा अमेरिकी छन् । अमेरिकाबाट १४ हजार ८७९ जना पर्यटक नेपाल आएको तथ्यांक छ । तेस्रो स्थानमा बेलायती छन् । यस मुलुकबाट ८ हजार २१७ जना पर्यटक नेपाल आएका छन् ।
चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् ।
सन् २०२३ को १० महिनाको अवधिमा ८ लाख ९ हजार ६७८ पर्यटक नेपाल भित्रिएका छन् ।