Logo

माप्य दुधकोशी गाउँपालिकामा ‘जनतासँग वनका कुरा’ कार्यक्रम सम्पन्न


सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत ‘जनतासँग वनका कुरा’ कार्यक्रम सम्पन्न भएको छ । सव डिभिजन वन कार्यालय, नेलेको आयोजनामा बुधबार गाउँपालिकाको वडा नं ३, दाम्कुमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सव डिभिजन वन कार्यालय नेलेका फरेष्टर मेनुका आचार्यको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा वन संरक्षण, प्रवर्द्धन र विकासका लागि सम्बन्धित निकाय र सामुदायिक वनबीच हुनुपर्ने समन्वय तथा सहकार्य,  सामुदायिक वन र उपभोक्ता सदस्यले खेल्नुपर्ने भूमिका, सामुदायिक वन उपभोक्ता समुहको संस्थागत वृत्तिविकास, वनसम्बन्धी पछिल्लो नयाँ ऐन, नियम तथा कानुनलगायतको विषयमा अन्तर्क्रिया गरिएको थियो ।

त्यस्तै वन्यजन्तु संरक्षणसँगै वन्यजन्तुबाट हुने क्षतिको न्यूनिकरण तथा क्षतिपूर्तिको व्यवस्थापनको विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा फरेष्टर आचार्यले सम्बन्धित निकाय र सामुदायिक वनबीचको समन्वय तथा सहकार्य र उपभोक्ताहरु जागरुक भएमात्रै वनको संरक्षण र विकास हुने चर्चा गर्दै त्यसनिम्ति सबैले आ-आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा राप्छा सामुदायिक वन, लालिगुराँस सामुदायिक वन, वस सामुदायिक वन, खाम्दिङ मुलाबारी सामुदायिक वनलगायतको नेतृत्व तथा उपभोक्ता सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले यो कार्यक्रम निक्कै उपयोगी भएको र वनसँग सम्बन्धित यस्ता जानकारीमूलक कार्यक्रम बेलाबेलामा हुनुपर्ने बताए ।

 

प्रकाशित मिति : बुधबार, १७ माघ २०८० १५:३६
प्रतिक्रिया दिनुहोस्