ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुलाउने गृहमन्त्री रबी लामिछानेको तयारी
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएको छ ।
सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले लिने र जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने कार्य सुरु भएको हो ।
‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ ।’
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।