Logo

धुलो टक्टकाउँदै उठेका मानबीर राई बने रक्षामन्त्री, को हुन राई ?


सोलुखुम्बु, ३१ असार २०८१ । सोलुखुम्बु जिल्लाबाट निर्वाचित मानवीर राई केपी शर्मा ओली नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका छन् । २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका बलबहादुर केसीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित राई पहिलो पटक मन्त्री बनेका हुन् ।

माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २, ठूलोढुंगामा जन्मिएका राईले ईमान्दारिता, निष्ठा र धैर्यता भएको नेताका रुपमा स्वच्छ छवि बनाएका छन् । त्यसो त उनी सधैं सबै भेट र जनभेटमा भन्ने गर्छन् ‘यो पदमा पुगेको छु । यो पद पाएर के के नै पाए भन्ने लागेको छैन । जिम्मेवारी बहन गर्दै जाँदा यहाँ पुगियो । बरु आफ्नो जिम्मेवारी पूरा गर्न कति सक्छु त्यसको ठूलो चिन्ता छ ।’

५२ वर्षीय राई नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । २०४२ सालदेखि २०४५ सालसम्म भूमिगत रुपमा अनेरास्ववियूबाट विद्यार्थी राजनीति गरेका उनी २०४६ देखि ०४७ सम्म अखिल नेपाल किसान संघ सोलुखुम्बुको जिल्ला सचिवालय सदस्य बनेका थिए ।

२०४८ सालमा नेकपा एमालेको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य हुँदै क्रमशः उपसचिव, उपाध्यक्ष, कार्यवहाक अध्यक्ष भए । २०७२ सालमा सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका उनले त्यसबीचमा माओवादी र एमालेबीचको पार्टी एकतापछि बनेको नेकपाकोसमेत जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

त्यसरी पार्टी राजनीतिको तल्लो कमिटीबाट राजनीतिमा प्रवेश गरेका राई २०७८ मंसिरमा एमालेको केन्द्रीय समिति सदस्यमा मनोनित भएका थिए ।
विश्वभर रहेका सिंगो खालिङ समुदायबाट उपल्लो तहमा पुग्ने पहिलो व्यक्तिसमेत बनेका छन् उनी ।

नवनियुक्त रक्षामन्त्री मानबीर राईलाई शिखरपोष्ट मिडिया ग्रुपको तर्फबाट हार्दिक बधाई तथा कार्यकाल सफलताको भव्य शुभकामना व्यक्त गर्दछौं ।

प्रकाशित मिति : सोमबार, ३२ असार २०८१ १३:०७
प्रतिक्रिया दिनुहोस्