Logo

टानको अध्यक्षमा सागर पाण्डेलाई अघि सार्ने घोषणा, सबैलाई समेटेर सर्वसम्मत कार्यसमिति बनाउन पहल गरिने


फोटो सामाजिक सञ्जालबाट

काठमाडौँ, १५ साउन । पदयात्रा तथा पर्वतीय पर्यटन व्यवसयीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी नेतृत्वमा बरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डेलाई अघि सार्ने घोषणा गरिएको छ ।

नेकपा (माओवादी केन्द्र)निकट नेपाल पर्यटन व्यवसायी संगठनद्धारा ठमेल स्थित होटल मस्र्याङ्दीमा मंगलबार आयोजित बृहत भेलाले पाण्डेलाई टान अध्यक्षको उम्मेद्धार बनाउने सर्वसम्मत निर्णय गर्दै यस्तो घोषणा गरेको हो ।

संगठनका अध्यक्ष नबराज पाण्डेको सभापतित्वमा बसेको भेलामा पर्यटन शाखाका ईन्चार्ज टेक बहादुर बस्नेत, संगठनका नेता तथा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, टानका पूर्व अध्यक्ष तथा नेपालका लागि इस्टोनियाका अवैतनिक दूत नवराज दाहाल, टानका पूर्व अध्यक्ष ज्योति अधिकारी, बरिष्ठ पर्यटन व्यवसायी गणेश सिम्खडा, ऋषि भण्डारी, नबराज अम्गाई, अम्बिर गुरुङ, राजन सिम्खडा, ठाकुर राज पाण्डे, राजकुमार बस्नेत, ऋषि नेपाल लगायत नेतृत्वहरुले आ आफ्नो धारणा राखेका थिए । केही व्यवसायीहरुले आफ्नो दाबी समेतप्रस्तुत गरेका थिए।

भेलालाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी पाण्डेले टानको आगामी नेतृत्व व्यवसायमुखी, वैचारिक, दक्ष र अनुभवी हुनुपर्नेमा जोड दिए । निर्णय हुन बाँकी अन्य पदहरूमा भने सम्बद्ध संगठनहरुलाई पनि समेट्ने गरी संवाद समिति मार्फत सर्वमान्य र सर्वपक्षीय बहस हुनुपर्ने, सर्वसम्मत नेतृत्वका लागि हरप्रयास गरिने भनाइ उहाँको छ ।

टानका पूर्वमहासचिव तथा हिमालयन ग्ल्यासियर ट्रेकिङका संचालक पाण्डे पर्यटन क्षेत्रको चिरपरिचत नाम हो । विभिन्न माध्यमबाट पर्यटन क्षेत्रको बृद्धि विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका पाण्डेले पर्यटन क्षेत्रको समकालिन नेतृत्व तहमा तार्किक र निडर व्यक्तित्वका रुपमा आफुलाई उभ्याएका छन् ।
कार्यक्रमको सञ्चालन संगठनका महासचिव अबिर मल्लले गरेका थिए।

निकट भबिष्यमै टानको चुनाव घोषणा हुँदैछ ।

प्रकाशित मिति : मंगलवार, १५ श्रावण २०८१ २१:३७
प्रतिक्रिया दिनुहोस्