Logo

सोलुदुधकुण्ड नगरपालिकाले चालु आवमा तीनटा वडा कार्यालय भवन बनाउने


सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले यस आर्थिक वर्षमा तीन वटा वडामा वडा कार्यालय भवन निर्माण गर्ने भएको छ ।

नगरपालिकाले यो बर्ष वडा नं १ टाक्सिन्दु ,वडा नं ८ केरुङ र वडा नं १० टाप्टिङमा वडा कार्यालय भवन निर्माण गर्न लागेको हो। साविकका गाबिस भवनहरुमार्फत कार्यसम्पादन गर्दा स्थानीयले भोग्नु परेको कठिनाई र असुबिधालाई मध्यनजर गर्दै नगरपालिकाले नयाँ भवन निर्माणलाई प्राथमिकता दिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो।

नगरप्रमुख शेर्पाका अनुसार आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने गरि देनदुब निर्माण सेवासँग वडा नं १ र सोही मितिमा सम्पन्न गर्ने गरी वडा नं ८ र १० को कार्यालय भवन निर्माणका लागि ग्रीन तारा कन्स्ट्रक्सनसंग बिहीबार सम्झौता भएको छ। वडा नं १ को भवन देनदुब निर्माण सेवा भ्याट बाहेक १ करोड ८ लाख २८ हजार पाँच सय चौध र ८ र १० को भवन निर्माणका लागि ग्रीन तारा कन्स्ट्रक्सनसंग क्रमशः ९९ लाख ६५ हजार दुई सय एकहत्तर र ९९ लाख १ हजार पांच सय पचासी रुपैयाँमा सम्झौता सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले वडा नं ६ दोर्पु,वडा नं ९ गोराखानी र वडा नं ११ तिङ्लामा भने गत साल कार्यालय भवन निर्माण गरिसकेको छ।निर्माण सम्पन्न भएका ती भवनको उद्घाटन पछि सेवाप्रवाह समेत गरिंदै आएको छ ।

वडा नं २ र वडा नं ७ को कार्यालय भवन यसै बर्ष मर्मत गर्ने र वडा नं ३ र ४ मा भने अर्को आर्थिक बर्षमा वडाका लागि नयाँ भवन निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख शेर्पाका अनुसार नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि प्रक्रियागत कामलाई यसै बर्षबाट तीब्रता दिइने छ । हाल जिल्ला समन्वय समितिको समिक्षालय रहेको स्थानमा नगरपालिकाको भवन निर्माण सम्पन्न भएपछि वडा नं ५ को कार्यालय भने हालको नगरपालिकाको भवनमा सारिने नगरप्रमुख शेर्पाले रहस्य खबरलाई बताउनुभयो ।

प्रकाशित मिति : बिहीबार, ३१ श्रावण २०८१ १९:१०
प्रतिक्रिया दिनुहोस्