Logo

टान निर्वाचनका लागि सागर पाण्डे प्यानल तयार, सबैलाई समेटेर लाने तयारी


काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि बरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डेको प्यानल तयार भएको छ । सबै क्षेत्र, समुदायलाई समेटेर प्यानललाई अन्तिम रुप दिने चरणमा पुगिएको पाण्डे निकट स्रोतले जनायो ।

प्राप्त जानकारीअनुसार विभिन्न चरणमा भएको वार्ता र संवादपछि पाण्डे नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा तामाङ, द्धितीय उपाध्यक्षमा विशेष थापा, महासचिवमा सोनाम जी शेर्पा, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने तथा सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेद्धारी दिने र सदस्यको बारेमा सबैलाई समेटेर लैजानेगरी छलफल जारी रहेको बताइएको छ ।

प्यानलको औपचारिक घोषणा भोली गर्ने छ ।

अध्यक्षका उम्मेद्धार पाण्डेले राहत तथा उद्दार अक्षयकोषको स्थापना, कानूनी परामर्श इकाईको गठन, बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई स्थापना लगायतका एजेण्डाहरुसहित चुनावी प्रचारमा छन् ।

उनले ट्रेकिङ क्षेत्रका सबै कर्मचारी तथा मजदुरहरुका लागि राहत तथा उद्धार अक्षय कोषको जरुरी रहेको बताए । पाण्डेले भने, ‘टानका सदस्य कम्पनीहरुका कर्मचारी, ट्रेकिङ गाइड, मजदुर जुनसुकै बेला घाइते हुने, मृत्युसम्म हुने अवस्था आउने गरेको छ । त्यस्तो समस्यामा पीडितहरुलाई सहयोग गर्नुपर्छ । त्यो गर्नुपर्छ भन्ने मान्यतालाई व्यवहारमा उतार्न राहत कोष त चाहिन्छ । अक्षयकोष उनीहरुको हकहितको लागि महत्वपूर्ण छ ।’

व्यवसायीहरुलाई कुनै पनि बेला दीर्घ रोग वा महंगो उपचार गर्नुपर्ने बिरामी परेको अवस्थामा पनि अक्षयकोषले राहत दिने भनाइ उनको छ । पाण्डेका अनुसार टानमा एउटा अलगै विभागका रुपमा कानूनी परामर्श इकाइको आवश्यकता महशुस गरी त्यो इकाईको गठन गर्ने बताए । यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासननिक अप्ठ्यारा र कठिनाईहरु तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन पाउने छन् ।

कानुनी समस्यालाई टानले सहजीकरण गरी समस्या समाधानका लागि पहल गर्ने पाण्डेले बताएका छन् । उनले भने, ‘बैंकिङ, भ्याट र करसम्वन्धमा परामर्श प्रदान गर्न परामर्श इकाई गठनको अवधारणा बनाइएको हो ।’

प्रकाशित मिति : शनिबार, १ भाद्र २०८१ १९:५६
प्रतिक्रिया दिनुहोस्