Logo

टान नेतृत्वका लागि सागर पाण्डे प्यानल घोषणा, को को छन् उम्मेद्धार ? (व्यक्तिगत विवरणसहित)


काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को आगामी निर्वाचन लागि वरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डे नेतृत्वको विसुद्व व्यावसायिक प्यानल घोषणा गरिएको छ । आगामी भदौ १७ गते वार्षिक साधारण सभासँगै सम्पन्न हुने टान निर्वाचनका लागि सबै विचार समुह, भूगोल, समुदायलाई समेटिएको व्यावसायिक तथा नेतृत्व गर्नसक्ने सक्षम टिम आइतबार घोषणा गरिएको हो ।

पाण्डे नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्ष पदका लागि चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा तामाङ, द्धितीय उपाध्यक्षमा विशेष थापा, महासचिवमा सोनाम जी शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने तथा सहकोषाध्यक्षमा डम्बर अधिकारी रहनुभएको छ भने सदस्यहरुमा माधव कुमार धमला, विनोदकुमार तामाङ, मेरे कार्की, होमबहादुर विश्वकर्मा, अम्बिर बहादुर गुरुङ, शिव प्रसाद सिलवाल, उत्सव ढकाल, फुर्पु छिरिङ ल्हामु (भोटे) र शृष्टी भण्डारी प्रयासी रहनुभएको छ ।

जसका लागि सागर पाण्डे समुहका उम्मेद्धारहरु को कस्ता छन् ? शब्दमा व्यक्तिगत तथा व्यवसायिक अनुभवसहितको पूर्ण विवरण हेर्नुस् ।

१. सागर पाण्डे
अध्यक्ष पदका उम्मेद्धार
सागर पाण्डे ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को आगामी निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्धार हुनुहुन्छ । हिमालयन ग्लासियर ट्रेकिङ प्रालिको प्रबन्ध निर्देशक पाण्डे विस. २०२८ सालमा गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नं. ६ अस्राङमा जन्मिनुभएको हो । विसं २०४९ सालमा त्रिचन्द्र क्याम्पसबाट विएससी उत्तीर्ण गरेपछि सुरुमा साथीहरुसँगको ट्रेक्स एण्ड एक्स्पीडिशन स्थापना गरी नेपालको पर्वतीय पर्यटन क्षेत्रमा औपचारिक रुपमा लाग्नुभएका पाण्डेले सन् १९९८ मा आफ्नै स्वामित्वमा हिमालयन ग्लासियर टे«किङ कम्पनी स्थापना गर्नुभएको हो । ट्रेकिङसँगै हस्पिटालिटी क्षेत्रमासमेत ठूलो लगानी छ उहाँको । सन् २००३ मा ठमेलस्थित गल्कोपाखा ओरालोमा होटल इन्काउन्टर स्थापना गरी हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले हाल होटल मुनलाइट, यात्री स्वीट्स एण्ड स्पा, होटल नोर्बुलिङ्का, अवतार काठमाडौं होटल, काठमाडौं ग्रील रेष्टुरेन्ट एण्ड वाइन बारलगायत सञ्चालन गरिरहनुभएको छ । यसरी पर्यटन क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव संगालिसक्नुभएका पाण्डेले हाल ५ सय भन्दा बढिलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहनुभएको छ । सन् २०१३ देखि २०१५ सम्म टानको महासचिव पदमा रहेर कुशल नेतृत्व गर्नुभएको थियो । टानको महासचिव पदमा रहुँदा नेपालको पर्यतीय पदयात्रा व्यवसायको विकास र विस्तारमा मुख्य भूमिका निर्वाह गर्नुभएको छ । टान अक्षयकोष स्थापना, पर्यटन व्यवसायमा भ्याट छुटको व्यवस्था, करसम्बन्धी समस्या समाधान, एक्स्पेरियन्सल टुरिजमको विकास गर्ने, पर्यटन ऐनलाई समयसापेक्ष बनाउने, नियन्त्रित पदमार्गको परमिटमा सहजीकरण, कानुनी र फाइनान्सियल मरामर्श केन्द्र स्थापना गर्ने, टिम्सको व्यवस्थापन, टानको विधान समयसापेक्ष बनाउनेलगायतका महत्वपूर्ण एजेण्डासहित पाण्डेले टानको अध्यक्ष पदमा उम्मेद्धारी दिन लाग्नुभएको हो ।

२. चोलेन्द्र बहादुर कार्की
बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्धार
चोलेन्द्र बहादुर कार्की टानको आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्धार हुनुहुन्छ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. ३, बासामा जन्मिनुभएका उहाँले विगत लामो समयदेखि पर्यटन क्षेत्रमा सशक्त नेतृत्वको रुपमा भूमिका निर्वाह गर्दै आउनुभएको छ । हिमालयन जोय एडभेन्चर प्रा.लि.का प्रबन्ध निर्देशक कार्कीसँग एक कार्यकाल टानको प्रथम उपाध्यक्ष भएर काम गरेको अनुभव छ । उहाँको ट्रेकिङसँगै होटल तथा अन्य क्षेत्रमासमेत लगानी छ । अक्वा कुनो रेष्ट्रोका प्रबन्ध निर्देशक कार्कीले अन्य विभिन्न होटल तथा रेष्टुरेन्ट पनि सञ्चालन गरिरहनुभएको छ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन सोलुखुम्बुको अध्यक्षसमेत रहनुभएका उहाँ लाइन्स क्लब, किवानिज क्लब, रोटरी क्लबलगायत सामाजिक संघसंस्थामा आबद्ध भएर सामाजिक सेवामासमेत तल्लिन हुनुहुन्छ । उहाँले बेलायत, न्यूजिल्याण्ड, जर्मनी, इटाली, फ्रान्स, भुटान, चीन, भारत, अष्ट्रिया, दुवई, बेल्जियम, सिंगापुर, जापान, नेदरल्याण्डलगायतका देशहरुको भ्रमणसँगै पर्यटन सम्बन्धि अन्तर्राष्ट्रिय सेमिनार तथा बैठकहरुमा सहभागि भएर नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्लामा जन्मिएर मुलुकको पदयात्रा तथा पर्वतीय पर्यटन प्रवर्द्धनार्थ नीतिगत सुधारसँगै टानको माध्यमबाट थप नयाँ योजना कार्यान्वयनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने तीब्र चाहानाका साथ उहाँले आफ्नो उम्मेद्धारी दिनुभएको छ । उहाँले विगत दुई दशकदेखि पर्यटन क्षेत्रमा गर्नुभएको लगानी र अभिभावकीय भूमिका नै उहाँका जीतका आधारहरु हुन् ।

३. दावा लामा तामाङ
प्रथम उपाध्यक्ष पदका उम्मेद्धार
दावा लामा तामाङ टानको आगामी निर्वाचनका लागि प्रथम उपाध्यक्ष पदको उम्मेद्धार हुनुहुन्छ । ट्राभल टाइम्स ट्रेक्स प्रालिको प्रबन्ध निर्देशक लामा काभ्रे जिल्ला तिमाल गाउँपालिका वडा नं. ८, टेकनपुरमा जन्मिनुभएको हो । झण्डै दुई दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशिल उहाँले सन् २०१५ देखि ०१७ को कार्यसमितिको सदस्य पदमा रहेर काम गरिसक्नुभएको छ । कार्यसमिति सदस्य हुँदा अमेरिकाको पेन्सिलभेनियामा भएको एडभान्चर ट्राभल सोमा टानको प्रतिनिधित्व गर्नुभएको थियो । सानैदेखि पदयात्रा क्षेत्रमा संलग्न लामासँग ट्रेकिङ गाइड तथा सहासिक प्रथप्रदर्शनमा राम्रो अनुभव छ । व्यवसायबाहेक उहाँले विभिन्न सामाजिक संघसंस्थामा पनि नेतृत्व तहमा रहेर काम गरिरहनुभएको छ । काभ्रेमा अवस्थित टेकनपुर विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर काम गरिरहनुभएका उहाँले काभ्ररेमै रहेको बुद्धिष्ट गुम्बाको उपाध्यक्ष जिम्मेवारीसमेत सम्हालिराख्नु भएको छ । पर्यटन प्रवर्द्धनको शिलशिलामा उहाँले यूरोपको सबै, अमेरिकासँगै विभिन्न देशको भ्रमण गरिसक्नुभएका छ । गोक्यो रि क्षेत्रको प्रवद्र्धनमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ ।

४. निशेष थापा
द्धितीय उपाध्यक्ष पदका उम्मेद्धार
धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ७ मा जन्मिनुभएका निमेष थापा टानको आसन्न निर्वाचन २०८१ का लागि द्धितीय उपाध्यक्षका उम्मेद्धार हुनुहुन्छ । हिमालयन वण्डर्स एडभेन्चर प्रा.लि.का प्रबन्ध निर्देशक थापा सन् १९९९ देखि पर्यटन क्षेत्रमा लाग्नुभएको हो । पदयात्रा व्यवसायसँगै होटल द एड्रेस काठमाडौं सञ्चालन गरिरहनुभएको छ । आफ्नो व्यवसायको अलावा उहाँले विभिन्न पर्यटकीय संघसंस्थामा आबद्ध भएर पर्यटन प्रवर्द्धन र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । ठमेल पर्यटक सेवा संघको कार्यसमिति सदस्य भएर काम गरिसक्नुभएका थापा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल)को एक कार्यकाल महासचिव पदमा रहेर काम गर्नुभएको छ ।

५. सोनाम ग्याल्जेन शेर्पा
महासचिव पदका उम्मेद्धार
सोनाम ग्याल्जेन शेर्पा आगामी निर्वाचनका लागि महासचिव पदको उम्मेद्धार हुनुहुन्छ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १, खरिखोलामा जन्मनुभएका शेर्पा नर्थ एक्स्ट्रिम हिमालय प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ । यसअघि एक कार्यकाल टानको कार्यसमिति सदस्यमा रहेर काम गरिसक्नुभएका उहाँ विगत दुई दशकदेखि पर्यटन क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । शेर्पा पर्यटन व्यवसायी संघ नेपालका निवर्तमान अध्यक्ष भएर काम गरिसक्नुभएका शेर्पा आदिवासी जनजाति पर्यटन महासंघको वर्तमान अध्यक्ष हुनुहुन्छ । पर्यटन क्षेत्रसँगै उहाँ विभिन्न संघसंस्थामार्फत सामजिक सेवामासमेत आवद्ध हुनुहुन्छ । स्माइल फर होप फाउण्डेशन नेपाल शाखाका निवर्तमान अध्यक्ष, जुभिङ शेर्पा किदुकका अध्यक्ष भएर काम गरिरहनु भएको छ । अमेरिका, क्यानडा, जर्मनी, इटाली, फ्रान्स, पोल्याण्ड, रसिया, नर्वे, भुटान, यूके, चीन, भारत, अस्ट्रिया, दुवई, ओमन, कतारलगायतका मुलुकको भ्रमण गरिसक्नुभएको छ । नेशनल जियोग्राफीक पोल्याण्ड, आलस्का वाइल्डलाईफ कञ्जर्भेशन यूएसए तथा अहिंसा फाउण्डेशन फ्रान्स जस्ता अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मान प्राप्त गरिसक्नुभएको छ ।

६. सजना त्रिपाठी
सचिव पदका उम्मेद्धार
हाइकिङ एडभेन्चर ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक सजना त्रिपाठी टानको आगामी निर्वाचनका लागि सचिव पदका उम्मेद्धार हुनुहुन्छ । नयाँ बानेश्वर, काठमाडौंमा जन्मिनुभएको त्रिपाठी धादिङ जिल्लाको बुहारी हुनुहुन्छ । विगत एक दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर लागिरहनुभएका उहाँ टानको वर्तमान कार्यसमितिमा सदस्य पदमा रहेर काम गरिरहनुभएको छ । टुरिजममा स्नातकोत्तर अध्ययन गरिरहनुभएका त्रिपाठी अंग्रेजीसँगै स्पेनिस भाषामा दख्खल राख्नुहुन्छ । पर्यटन व्यवसायको माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि लागिरहनुभएका उहाँ विभिन्न संघसंस्थामार्फत सामाजिक सेवासमेत गरिरहनुभएको छ । उहाँले नेपालको पर्यटकीय गन्तव्यहरुको बारेमा सुन्दर रचनात्मक लेखेर पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउँदै आउनुभएको छ ।

७. गणेश प्रसाद न्यौपाने
कोषाध्यक्ष पदका उम्मेद्धार
धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका वडा नं. ६ (साविक बसेरी गाविस वडा नं. ९)मा जन्मिनुभएका गणेश प्रसाद न्यौपाने आसन्न टान निर्वाचनका लागि कोषाध्यक्ष पदका उम्मेद्धार हुनुहुन्छ । थर्ड आई एडभेन्चर प्रा.लि.का प्रबन्ध निर्देशक विगत २३ वर्षदेखि पर्यटन क्षेत्रमा निरन्तर लागिरहनुभएको छ । स्नातक तहसम्मको अध्ययन गर्नुभएका न्यौपानेले आफ्नो व्यवसायमार्फत पर्यटन प्रवद्र्धन र विकासमा भूमिका खेल्नुका साथै सामाजिक सेवामासमेत काम गरिरहनुभएको छ । उहाँले थर्ड आई फाउण्डेशनमार्फत दुरदराजका ग्रामिण भेगहरुमा शिक्षा, स्वास्थ्य तथा महिला सशक्तिकरण सम्बन्धी काम गरिरहनुभएका छ भने विशेषगरी आफ्नो गाउँको मानिसहरुलाई आइपर्ने विभिन्न समस्याहरुमा आर्थिक तथा भौतिक सहयोगका लागि नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ । टानमा हुने फजुल खर्च नियन्त्रण, आर्थिक सुशासन र पारदर्शीताका लागि स्पष्ट खाँकासहित कोषाध्यक्ष पदमा उम्मेद्धारी दिएको भनाइ उहाँको छ ।

८. डम्बर बहादुर अधिकारी
सहकोषाध्यक्षको उम्मेद्धार
ट्रेकर्स ट्रेक नेपाल कम्पनीका प्रबन्ध निर्देशक डम्बर बहादुर अधिकारी टानको आसन्न निर्वाचनका लागि सहकोषाध्यक्ष पदको उम्मेद्धार हुनुहुन्छ । धादिङ जिल्लाको नेत्रावती डवजोङ गाउँपालिका वडा ५ मा जन्मिनुभएका उहाँ सोही गाउँपालिकाको पूर्व वडा अध्यक्षसमेत हुनुहुन्छ । सन् २०१५–२०१७ मा टानको कार्यसमिति सदस्य पदमा रहेर काम गरिसक्नुभएका अधिकारी सन् १९९८ देखि पर्यटन क्षेत्रमा निरन्तर लागिरहनुभएको छ । फ्यूचर भिलेज नेपाल नामक संस्थामार्फत विशेषगरी धादिङ जिल्लाको विभिन्न गाउँमा शैक्षिक उन्नयनका लागिसमेत काम गरिरहनुभएको छ ।

९. अम्बिर बहादुर गुरुङ (गोफ्ले)
सदस्य पदका उम्मेद्धार

कस्टम ट्रेक नेपाल प्रालिका प्रबन्ध निर्देशक अम्बिर बहादुर गुरुङ (गोफ्ले) टानको आगामी निर्वाचनका लागि कार्यसमिति सदस्य पदको उम्मेद्धार हुनुहुन्छ । विगत साढे दुई दशकदेखि पर्यटन क्षेत्रमा आबद्ध गुरुङ त्यसअघि साढे ११ वर्ष शिक्षक पेशामा हुनुहुन्थ्यो । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, डाँडागाउँमा जन्मिनुभएका उहाँले राजनीति शास्त्रमा स्नातकोत्तर, शिक्षा शास्त्रमा स्नातकोत्तर र एलएलबी अध्ययन गर्नुभएको छ । २०६३ सालमा ट्रेक नेपाल प्रालि सञ्चालनमा ल्याउनुभएका उहाँले २०७० सालदेखि हालको कस्टम ट्रेक नेपाल प्रा.लि. सञ्चालन गर्दै आउनुभएको छ । गुरुङ पर्यटन व्यवसायी संघ नेपालको निवर्तमान अध्यक्षसमेत रहनुभएका उहाँसँग पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको कार्यसमिति सदस्य पदमा रहेर काम गरेको अनुभव छ । त्यसबाहेक उहाँ विभिन्न रचनात्मक लेखहरु लेख्नुहुन्छ । गतवर्ष मात्रै गाजली गाथा नामक उहाँको सस्मरण पुस्तक सार्वजनिक भएको थियो ।

१०. माधव कुमार धमला
सदस्य पदका उम्मेद्धार

गोरेटो ट्रेक्स एण्ड एक्स्पीडिसन प्रालिका प्रबन्ध निर्देशक माधव कुमार धमला टानको आगामी निर्वाचनका लागि कार्यसमिति सदस्य पदका उम्मेद्धार हुनुहुन्छ । विगत २४ वर्षअघि एक पर्यटक सहयोगी र पछि प्रथप्रर्शकको रुपमा संगालेको अनुभवका आधारमा आफ्नै स्वामित्वमा ट्रेकिङ कम्पनी स्थापना गर्नुभयो । नेपालको अधिकांश क्षेत्र र तिब्बतलगायतका विभिन्न हिमालय क्षेत्रहरुमा पदथप्रदर्शकको रुपमा काम गर्नुभएका धमलाले दक्षिण एसियाका विभिन्न मुलुकहरुमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरुमा सहभागिता जनाउनुभएको छ । यसरी एक स्वरोजगार तथा व्यवसायीका रुपमा आफुले आर्जन गरेको शैक्षिक ज्ञान, व्यवसायिक अनुभव र समुदाय उन्मुख दृष्टिकोणलाई संस्थागत रुपमा स्थापित गर्न टान जस्तो संस्थामा प्रत्यक्ष आबद्धताको तीब्र आकांक्षा राख्नुभएको छ उहाँले ।

११. विनोद कुमार तामाङ
सदस्य पदका उम्मेद्धार
आई अन हिमालय ट्रेक्स एण्ड एक्स्पीडिसन प्रालिका प्रबन्ध निर्देशक विनोद कुमार तामाङ टानको आगामी निर्वाचनका लागि कार्यसमिति सदस्य पदको उम्मेद्धार हुनुहुन्छ । गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नं. ४, बालुवाटारमा जन्मिनुभएका तामाङ विगत दुई दशकदेखि पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा आबद्ध हुनुहुन्छ । पोर्टर, पदप्रदर्शक हुँदै कम्पनीको मालिक बन्नुभएका तामाङले आफ्नो व्यवसायसँगसँगै सांगीतिक क्षेत्रमासमेत चर्चा कमाउनुभएको छ । र, विभिन्न माध्यमबाट सामाजिक सेवामा पनि उहाँ क्रियाशिल हुनुहुन्छ ।

१२. मेरे कार्की
सदस्य पदका उम्मेद्धार
भर्सटाइल माउन्टेन ट्रेक्स एण्ड एक्सपीडिसन नेपाल प्रालिको प्रबन्ध निर्देशक मेरे कार्की टानको आगामी निर्वाचनका लागि कार्यसमिति सदस्य पदको उम्मेद्धार हुनुहुन्छ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. ३, बासामा जन्मिनुभएका कार्की सन् १९९६ देखि पर्यटन क्षेत्रमा आबद्ध हुनुहुन्छ । अंग्रेजी विषयमा स्नाताकोत्तरसम्म अध्ययन गर्नुभएका उहासँग टेकिङ, माउन्टेन गाइड तथा टूर गाइडको रुपमा राम्रो विज्ञता हासिल गर्नुभएको छ ।

१३. होमबहादुर विश्वकर्मा
सदस्य पदका उम्मेद्धार
टुरिष्ट लिङ्क ट्रेक्स एण्ड एक्स्पीडिसन प्रालिका प्रबन्ध निर्देशक होम बहादुर विश्वकर्मा टानको आगामी निर्वाचनका लागि कार्यसमिति सदस्य पदको उम्मेद्धार हुनुहुन्छ । नुवाकोटमा जन्मिनुभएका विश्वकर्माले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । विगत दुई दशकदेखि पदयात्रा पर्यटन प्रवर्द्धन र विकासमा योगदान पुर्‍याउँदै आउनुभएका उहाँ फ्यूचर भिजन नेपाल फाउण्डेशनको अध्यक्ष हुनुहुन्छ । उहाँले सो संस्थामार्फत ग्रामिण क्षेत्रको शिक्षा, स्वास्थ्य गरिवी निवारणलगायतको क्षेत्रमा काम गर्दै आउनुभएको छ । दक्षिण एसियाका सबै र फ्रान्स, जर्मनलगायतका देशहरुको भ्रमण गरी नेपालको पर्यटन प्रवद्र्धन गर्नुभएको छ ।

१४. शिव प्रसाद सिलवाल
कार्यसमिति सदस्य पदका उम्मेद्धार
एक्रस हिमालय टुर्स एण्ड ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक शिव प्रसाद सिलवाल टानको आगामी निर्वाचनका लागि कार्यसमिति सदस्य पदको उम्मेद्धार हुनुहुन्छ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं. १, कालिदहमा जन्मिनुभएका सिलवाल विगत २० वर्षदेखि निरन्तर पर्यटन क्षेत्रमा लागिरहनुभएको छ । सन् २००४ देखि होटल तथा पदयात्रा व्यवसायमा आबद्ध उहाँले सन् २०१० मा आफ्नै स्वामित्वको एक्रस हिमालय टुर्स एण्ड ट्रेक्स कम्पनी सुरुवात गर्नुभएको हो । हाल होटल ट्राभलर्स होलिडे इनको प्रबन्ध निर्देशकसमेत रहनुभएका उहाँले बीबीएस तहसम्म अध्ययन गर्नुभएको छ । पर्यटन प्रवर्द्धनात्मक गतिविधि अगाडि बढाउने शिलशिलामा उहाँले अहिलेसम्म एसियाका विभिन्न मुलुकहरुको ट्राभल तथा ट्रेड फेयरहरुमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनुभएको छ । व्यवसायसँगै सामाजिक कार्यमासमेत रुचि राख्नुहुने उहाँ किवानिज क्लब अफ धादिङको अध्यक्ष भएर ग्रामिण क्षेत्रमा बालबालिकाको शिक्षा क्षेत्रको उन्नयनका लागि विशेष भूमिका खेल्दै आउनुभएको छ ।

१५. उत्सव ढकाल
सदस्य पदका उम्मेद्धार
उत्सव ढकाल टानको आगामी निर्वाचनका लागि कार्यसमिति सदस्य पदका उम्मेद्धार हुनुहुन्छ । गेज नेपाल ट्राभल एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक ढकालले विगत लामो समयदेखि पर्यटन प्रवद्र्धन र विकासमा विभिन्न क्षेत्रबाट विशेष निर्वाह गर्दै आउनुभएको छ । भोजपुर जिल्लाको याकुका ढकाल हाल काठमाडौं कोटेश्वरमा बस्दै आउनुभएको छ । टियूबाट मास्टर्स इन विजनेश म्यानेजमेन्ट अध्ययन गर्नुभएका ढकाल पर्यावरणमैत्री पर्यटनलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ । फार्म्स स्टे नेटवर्क नामक संस्थामार्फत उहाँले कृषि र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आउनुभएको छ ।

१६. फुर्पु छिरिङ ल्होमी (भोटे)
सदस्य पदका उम्मेद्धार
फुर्पु छिरिङ ल्होमी (भोटे) टानको आगामी निर्वाचनका लागि कार्यसमिति सदस्य पदका उम्मेद्धार हुनुहुन्छ । रेडपाण्डा ट्रेक्स एण्ड एक्सपीडिशनका प्रबन्ध निर्देशक उहाँ विगत दुई दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध हुनुहुन्छ । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नं. ३ मा जन्मिनुभएका भोटेले सोसियोलोजी विषयमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । पर्यटन व्यवसायको अलावा उहाँले विभिन्न संस्थामा आबद्ध भएर सामाजिक सेवामा क्रियाशिल हुनुहुन्छ । उहाँले रेडपाण्डा फाउण्डेसन नामक संस्थामार्फत ग्रामिण क्षेत्रको शिक्षा, स्वास्थ्य तथा गरिबी निवारणमा काम गर्दै आउनुभएको छ ।

१७. शृष्टी भण्डारी
कार्यसमिति सदस्य पदका उम्मेद्धार

शृष्टी भण्डारी टानको आगामी निर्वाचनका लागि कार्यसमिति सदस्य पदको उम्मेद्धार हुनुहुन्छ । स्नोयी होराइजन ट्रेक्स एण्ड एक्स्पीडिशन प्रा.लि.का सञ्चालक भण्डारी पर्यटन क्षेत्रमा विगत एक दशकदेखि विभिन्न माध्यमबाट योगदान पुरयाउँदै आउनुभएको छ । देशमा केही छैन, केही गर्न सकिन्न भनेर विभिन्न वहाना या बाध्यताका कथा दर्शाउँदै विदेश पलायन हुने नयाँ पुस्ताभित्रको एउटा चुनौति पनि हो र आफ्ना अभिभावकले कठिन मिहेनतले खडा गरेको संघर्षमयी विरासतलाई काँधमा बोकेर पर्यटन व्यवसाय, त्यसमा पनि पर्वतारोहण व्यवसाय जस्तो कठिन र चुनौतिपूर्ण व्यवसाय सञ्चालन गर्ने हिम्मत, साहस, आँट गर्ने यूवा महिला पर्यटन उद्यमी भण्डारी भारतसहित एसिया तथा यूरोपका विभिन्न देशहरुमा सञ्चालित पर्यटनसम्बन्धि अन्तर्राष्टिय मेलाहरुमा सहभागिता जनाएर नेपालको पर्यटन प्रचार तथा प्रवर्द्धनमा योगदान पुर्‍याउनुभएको छ । प्रथप्रदर्शकका रुपमा पदयात्रा तथा पर्वतारोहण क्षेत्रमा विशेष रुची राख्ने उहाँले यसअघि सन् २०२३ मा मेरा पीकको सफल आरोहण गरिसक्नुभएको छ । उहाँले हाल गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल)को कार्यसमिति सदस्य पदमा रहेर काम गरिरहनुभएको छ ।

  • प्रायोजन सामाग्री 

 

प्रकाशित मिति : आईतवार, २ भाद्र २०८१ २३:४३
प्रतिक्रिया दिनुहोस्