टानका नवनिर्वाचित अध्यक्ष पाण्डेद्वारा पदबहाली, परिणाममूखी काम गर्ने उद्घोष
काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का नवनिर्वाचित अध्यक्ष सागर पाण्डेले पदभार ग्रहण गरेका छन् । अध्यक्ष पाण्डेले आइतबार टानको केन्द्रीय कार्यालय पुगी पदबहाली गरेका हुन् ।
पदभार हस्तान्तरण कार्यक्रमा बोल्दै अध्यक्ष पाण्डेले टानको अघिल्लो कार्यसमितिले सुरु गरेका राम्रा काम तथा गर्न बाँकी रहेका कामहरु निरन्तरता दिने र आफ्नो घोषणा पत्रअनुसार पर्यटन क्षेत्रलाई चलायमान बनाउन चरणबद्ध रुपमा परिणाममूखी काम गर्ने बताए । टानको मात्रै नभएर मुलुकको सिंगै पर्यटन क्षेत्रको समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता आफुले बुझेको उल्लेख गर्दै त्यसनिम्ति सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।
‘म टानको महासचिवको पदमा रहेर आफनो कार्यकल सम्हालिसकेको ९ वर्षपछि अध्यक्ष पदभार ग्रहण गर्न पाउँदा मलाई थप उर्जा मिलेको छ’, उनले अगाडि भने ‘व्यवसायको हकहित समग्र नेपालको पर्यटनको विकासमा के गर्न सकिन्छ ? त्यसमा पनि हाम्रो कार्यसमिति लाग्ने छौं ।’
टान नेतृत्वका रुपमा रहेर आफ्नो व्यक्तिगत लाभ र स्वार्थको लागि नलाग्ने उद्घोषसमेत उनले गरे । उनले चुनावसम्म पक्षविपक्ष भएको कुरा स्वाभाविक भएपनि अब निर्वाचित भइसकेपछि त्यस्तो नहुने र आफु सर्वपक्षीय समन्वय तथा सहकार्यबाट अघि बढ्ने बताए ।
टानका निवर्तमान अध्यक्ष निलहरि बाँस्तोलाले आफ्नो कार्यकालमा गरेका कार्यहरुको फेहरिस्त प्रस्तुत गर्दै नवनिर्वाचित अध्यक्षसहित नयाँ कार्यसमितिलाई टानलाई अझ राम्रो, व्यवस्थित तरिकाले अघि लैजान आग्रह गरे । बास्तोलाले यो कार्यसमितिलाई आफूूबाट हुन् सक्ने सहयोग र साथ सधैं रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् र
गत भदौं १७ गते सम्पन्न भएको टानको ४६औं वार्षिक साधरण सभा तथा निर्वाचनबाट सागर पाण्डेको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा सोनाम ग्यल्जेन शेर्पा, सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका थिए ।
त्यस्तै, कार्यसमिति सदस्यमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छप्ते लामा र राजु गुरुङ निर्वाचित भएका थिए ।