सोलुखुम्बु जिल्लाको प्रशासनिक नक्सा सार्वजनिक
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले ऐतिहासिक पहल गर्दै संघीय संरचना समेटिएको जिल्लाको प्रशासनिक नक्सा पहिलो पटक सार्वजनिक गरेको छ । जिल्लाको प्रशासनिक विकास र नयाँ संरचनालाई झल्काउने यो नक्सा कार्यालयको परिसरभित्र आकर्षक ढंगमा प्रदर्शन गरिएको छ ।
यो नक्साले सोलुखुम्बु जिल्लाको भौगोलिक स्वरूप, स्थानीय तहको विभाजन र संघीय शासन प्रणालीअनुसारको प्रशासनिक संरचनालाई प्रस्ट रूपमा चित्रण गरेको छ ।
यसले जिल्लाभरका ८ वटा स्थानीय तहहरू – सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी, माप्य दुधकोशी, सोताङ, महाकुलुङ, नेचासल्यान, लिखुपिके र खुम्बु पासाङल्हामु गाउँपालिकाको क्षेत्रीय सीमाना र प्रशासनिक कार्यक्षेत्रलाई व्यवस्थित रूपमा देखाइएको छ।
यो पहलले जिल्लाका प्रशासनिक कामलाई सजिलो बनाउनुका साथै स्थानीय जनताको सेवामा थप पारदर्शिता र पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
यस कदमले प्रशासनिक सुदृढीकरण मात्र होइन, जिल्लाको समग्र पहिचानलाई पनि प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।