माप्य दुधकोशी गाउँपालिकाको ठानेखोला क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर, आगो खुम्बु छिर्दै
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ र ७ को बीचमा पर्ने ठानेखोला आसपासको डढेलो अझै नियन्त्रणमा लिन सकिएको छैन । आईतबार दिउँसो दुधकोशी सामुदायिक वन क्षेत्रबाट सुरु भएको आगलागी साँझ केही कम भएपनि आज सोमबार बिहानबाट फेरी फैलिन थालेको हो ।
डढेलो नियन्त्रणका लागि नेपाली सेना, सशत्र प्रहरी र नेपाल प्रहरीको टोली फिल्डमा खटिएका छन् । स्थलगत अवस्था बुझ्न र आगो नियन्त्रणका लागि माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब राई, कार्लपालिका सदस्य आङकाजी शेर्पा, स्लथानीय यूवाहरुको टोली पनि त्यहाँ खटिरहेका छन् ।
अप्ठेरो भूगोल र हावाहुरी चलिरहेको हुनाले आगो निभाउन समस्या भइरहेको बताइएको छ ।
डढेलो बढ्दै जाँदा अहिले थालडाँडा कटेर खुम्बु क्षेत्रमा पर्ने सगरमाथा सामुदायिक वन क्षेत्रको भागमा आगो फैलिरहेको माप्य दुधकोशी गाउँपालिकाका कार्यपालिका सदस्य आङकाजी शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाका अनुसार यो डढेलो अझै नियन्त्रणमा लिन नसकेको खण्डमा सिबुचे, खुम्बुको पाङगोम् हुँदै सगरमाथा राष्ट्रिय निकुञ्ज पुग्नेछ र गाउँ पस्न सक्ने सम्भावना पनि त्यतिकै रहेको छ। त्यसो हुन नदिन सम्बन्धित निकाय, जनप्रतिनिधि र सरोकारवालाहरुले तदारुकता देखाउनुपर्ने भनाई उहाँको छ ।
आगलागी कसरी सुरु भयो यसको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।