Logo

२१ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ऐतिहासिक ख्याल तम्र कार्यशाला तथा खालिङ पूर्खा सम्मेलन


काठमाडौं, ८ चैत्र / काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. १ मा अवस्थित ख्यालदेलमा निर्मित ख्याल तम्र कममा एक हप्ताको ख्याल तम्र कार्यशाला तथा खालिङ पूर्खा सम्मेलन २०८१ भव्यताका साथ सम्पन्न भएको छ । किरात खालिङ राई उत्थान संघले आयोजना गरेको उक्त कार्यक्रम विहिबार २१ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

खालिङ समुदायको रीतिथिति, संस्कृति, परम्परागत संस्कार, भाषा, भेषभूषालाई लोप हुनबाट बचाउनका लागि र संसारभरी छरिएर रहेका खालिङ दाजुभाइ दिदीबहिनीहरुमा एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका केन्द्रीय अध्यक्ष बलबहादुर खालिङले जानकारी दिनुभयो । कार्यशालाबाट खालिङ मुन्दुम र मिथकमाथि भएको गहण छलफलको निचोडलाई अभिलेखीकरण गर्ने तथा खोज अनुसन्धानलाई थप अगाडि बढाउने सामुहिक अभियानको सुरुवात भएको भनाइ उहाँको छ ।

खालिङहरुको उद्गम स्थल सोलुखुम्बुको विभिन्न गाउँहरुसँगै देशका विभिन्न जिल्ला तथा विभिन्न देशहरुबाट पूर्खा तथा अभियन्ताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा अग्रज पूर्खाहरुबाट तम्र (मुन्दुम) र मिथक (किंवदन्ती)लाई संकलन तथा विश्लेषण गर्ने गर्नुका साथै ठाउँ र परिवेशअनुसार फरक हुँदै गएका संस्कार, संस्कृति जन्य कुराहरुलाई यथासम्भव एउटै लयमा ल्याउने विषयमा छलफल गरिएको थियो ।

सोको निष्कर्षका रुपमा जारी गरिएको घोषणा पत्रमा खुलुसम्मको खालिङको सृष्टिको कथामा एकमत भएको, खालिङहरुको विभिन्न तम्रहरुको उत्पतिको मिथक एउटै रहेकोमा सहमति रहेको उल्लेख छ । त्यस्तै माप्य र दिक्प्य खालिङहरुको मरण संस्कारका विधि समग्रमा एउटै भएपनि दिवंगत आत्मालाई पितृस्थल र पठाउँने बाटो फरक फरक हुने कुरामा सहमत भएको उल्लेख छ भने आत्मह र आत्महत्या गर्ने व्यक्तिको डेथबडिलाई आगोमा जलाएर अन्त्यष्टि गरी सेलेनोक्छो बसाई चिन्ता गरेर बाटो लगाउने कुरा उल्लेख गरिउको छ ।

त्यसैगरी न्यगी गर्दा उरदम १२ थान राख्ने, न्यगी नोक्छोले लगाउने पोशाक र सामाग्री खालिङ झल्काउनेगरी एउटै बनाउने तथा दार्जिलिङका खालिङले अहिले न्यगी गर्दा प्रयोग गर्ने घुमपात अबदेखि प्रयोग नगर्ने अबउपरान्त द्याम्यङ र घर्मे प्रयोग गर्ने बुदा समेटिएको छ ।

ख्यालदेलस्थित तम्रकमको चिक्र माप्य र दिक्प्य दुबैका सन्ततिले आआफ्नो द्वासनङअनुसार साझा रुपमा प्रयोग गर्ने, कार्यशालामा संकलित तम्र, मिथक, तम्रका विधि र आवश्यक सामाग्रीहरु सम्पादन गरी स्रोत व्यक्ति पूर्खाहरुको प्रोपाइलसहित पुस्तक प्रकाशन गर्ने, खालिङहरुको धार्मिक साँस्कृतिक स्थल (वासख्वाम)लगायत ख्यालदेलहरुमा रहेका अन्य सम्पदा तथा स्थलहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने, वास (भूमे) नाँच्दा ढोल प्रयोग नगर्ने, खालिङ पुर्खा, नोक्छो, मासिमीहरु खालिङ पहिचान निरन्तरताका आधारस्तम्भ भएकाले उनीहरुमा रहेका द्दानलाई सम्मानित प्रयोगमा ल्याउने, उनीहरुको सम्मान र जिवीकोपार्जनमा सामुहिक जिम्मेवारी लिएर दीर्घकालिन योजना कार्यान्वयनमा ल्याउने विषय पनि यसमा समेटिएको छ ।

खालिङहरुको ऐतिहासिक थातथलो, मूलथलो, रैथाने नामहरु खेजी पुनः लेखन कार्य गर्ने, खालिङ भाषा संरक्षणका लागि सामुदायिक विद्यालयस्तरमा अनिवार्य पठनपाठनका लागि तीन वटै तहका सरकारहरुसँग पहल गर्ने, विवाह कार्यमा तम्रको काम भइरहेको बेला सबैलाई पूर्खाको तम्रतर्फ ध्यानकेन्द्रित गर्ने वातावरण तयार गर्ने, खालिङ संस्कार, संस्कृतिको कार्यक्रमहरुमा चि खाँदा जुठो नहोस भन्नका लागि पुरुषले थ्योक्ल र महिलाले चुन्ठीमा आफ्नो भाग ग्रहण गर्ने कुरा लागु गर्ने भनिएको छ ।

खालिङ संस्कार, संस्कृतिको कार्यक्रमहरुमा खालिङ पोशाक तथा गरगहना लगाउनुपर्ने, चिण्डो, घ्याम्पा, थ्योक्ल, चुन्ठी, कठुवाको अनिवार्य प्रयोगमा जोड दिने तथा आयातित प्लास्टिक, सिसाबाट बनेका सामाग्रीलाई निरुत्साहित गर्ने कुरा पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी नेपालीकृत भएका खालिङ भाषाका स्थान नामहरुको बारेमा अनुसन्धान गरी स्थान नामकोश प्रकाशन गर्ने, विवाह प्रचलनमा रहेको २ थान अ्याब्या, हाडफोर प्रणाली हाडमा ७ र पातमा ५ लाई नै कायम गर्ने कुरा यसमा समेटिएको छ भने वास कोया (बाधा) मा गैरखालिङ र फरक आस्था भएकाहरुलाई पनि कोया गर्न आग्रह गर्ने, ब्वाल नोक्छोले बलम्कु पिलाउँदै जाने बलम्कु स्थलहरुको पहिचान र संरक्षण गर्ने, पुर्खाहरु (न्यगी, वास, खवा, स्युरको सबै)लाई गाउँठाउँ थातथलोमा सरसल्लाह गरेर जिविकोपार्जनका लागि उचित पारिश्रमिकको व्यवस्था गर्ने गराउनेलगायतको विषयहरु घोषणापत्रमा प्राथमिकताका साथ समेटिएका छन् ।

रक्षामन्त्री मानबीर राईबाट उद्घाटन गरि सुरुवात गरिएको कार्यशाला तथा सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो । कार्यक्रम समय सान्दर्भिक भएको र आउँदो पूस्ताका लागि यो ऐतिहासिक र उपलब्धिमूलक भएको सहभागिहरुको प्रतिक्रिया पाइएको छ ।

कार्यक्रममा पूर्खाहरुबीच भएको छलफलको निष्कर्षलाई दस्तावेज बनाउनका लागि अर्जुन खालिङको नेतृत्वमा गठित कार्यदलमार्फत टिपोट तथा प्रश्नोत्तरको काम गरिएको थियो भने कार्यक्रम अवधिभर सहजीकर्ताको रुपमा यूवा पूर्खा मिंमार खालिङले भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी भने संस्था र त्यसमातहतका शाखा तथा भातृ संस्थाले बहन गरेको थियो ।

कार्यक्रममा सोलुखुम्बुसँगै संखुवासभा, खोटाङ, पाँचथर, उदयपुर, मोरङ, सुनसरी, झापा, इलाम, चितवन जिल्ला तथा भारतको सिक्किम, दार्जिलिङ, अमेरिकालगायतबाट करिब १५० जना खालिङ पूर्खा तथा अग्रजहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, ७ चैत्र २०८१ १३:१२
प्रतिक्रिया दिनुहोस्