Logo

अमेरिकी पत्रिकाको टप सुचीमा लाक्पाफुटी शेर्पा


अमेरिकाबाट प्रकाशित हुने अफर म्याथाजिनले यात्रासँग सम्बन्धित महिलाहरुको सुचीमा नेपाली महिला लाक्पाफुटी शेर्पालाई समेत समेटेको छ । महिलाहरुले यो विश्वलाई कसरी बदलिरहेका छन् भन्ने जानकारीसहित उक्त सुची प्रकाशित गरिएको हो ।

सगरमाथाको छायामा जन्मिएकी लक्पाफूटी शेर्पाले आफ्नो अधिकांश जीवन हिमाल र त्यसकै काखमा विताएको र सन् १९९३ मा लाक्पाफुटी नेपाली महिलाहरुको हिमाल आरोही दलको सहायक टीम लिडर बनेर सगरमाथाको उचाई तर्फ लम्केको प्रोफाइलमा उल्लेख गरिएको छ ।

सगरमाथा आरोहणकै क्रममा उनको टीमकी साथी पासाङ ल्हामु शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाईला राख्ने पहिलो महिलाको इतिहास बनाउँन सफल भएकी थिइन् । तर आरोहणकै क्रममा पासाङ ल्हामुको मृत्यु भएपछि लाक्पाफुटीसँगै उनका अरु आरोहण दलका सदस्यले सगरमाथाको चुचुरो चुम्न भने पाएनन् ।

त्यसपछि लाक्पाफुटी युरोपका कयौँ उच्च शिखरहरुको उचाई नाप्न निस्किइन् । उनले युरोपका कयौँ उच्च हिमालहरुमा स्की गरेकी छिन् । स्की खेलको मज्जा लिने पहिलो नेपाली महिलाको रेकर्ड उनको नामा छ । त्यसपछि उनी ट्रेकिंग एजेन्सी र पर्यटन क्षेत्रमा होमिन थालिन् । नेपालको अति लोकप्रिय लक्जरी ट्रेकिंग एजेन्सीकी उनी अहिले संस्थापक हुन् । यो कम्पनी नेपाल, तिब्बत र भूटानको यात्राका लागि अति प्रख्यात छ ।

लाक्पाफुटीको उचाई यतिमात्र छैन । सगरमाथाको उचाई बराबरमा उनले आफ्नो व्यक्तित्व बढाएकी छिन् । सन् २००९ मा उनी नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान नेपालको पहिलो महिला कार्यकारी निदेशक नियुक्त भइन् । उनका लागि मात्र हैन यो नेपालकै लागि गर्वको विषय हो ।

पर्यटकीय क्षेत्रमा नेपाली महिलाले पाएको यो निक्कै ठूलो जिम्मेवारी हो । हाल उनी यी प्रतिष्ठानकी अध्यक्ष समेत छिन् । प्रतिष्ठानको उनी पहिलो महिला अध्यक्ष हुन् ।

उनले महिलालाई पर्यटनको क्षेत्रमा लाग्नका लागि निक्कै धेरै प्रयास र प्रोत्साहन गरेकी छिन् । महिला गाईड तालिमको सुरुवात गरेर पर्यटन क्षेत्रमा नेपाली महिलाको सहभागिता उच्च बनाएकी छिन् । उनको यो लगावले अहिले नेपाली पर्यटकीय क्षेत्रमा सयौँ महिलाहरुको सहभागी देखिएको छ ।

उनकै सक्रियतामा त्रिभुवन विश्वविद्यालयको अनुमतिमा पर्वतारोहण अध्ययन सुरु भएको छ । योपनि स्नातकोत्तर तहसम्म पर्यटन विषयमा पढाई हुने दुनियाको पहिलो डिग्री क्याम्पस बन्न सफल भएको छ । यो रेकर्डपनि उनकै सक्रियतामा भएको हो । पहिले स्नातकबाट सुरु भएको पर्यटन विषयको पढाई अहिले स्नातकोत्तर तहसम्म सुरु भएको छ ।

यहाँ विदेशी विद्यार्थीहरुपनि सम्मिलित छन् । विश्वभरीका विद्यार्थीहरुले यो विषयमा चासो राखेका छन् । २०१७ देखि स्नातक तहको पढाई सुरु भएको छ भने २०२० जनवरी देखि साहसिक पर्यटन विषयमा मास्टर डिग्री अध्यापन सुरु भएको छ । नेपालको अर्थतन्त्रको पहिलो खम्बाको रुपमा हेरिएको पर्यटन क्षेत्रको विकास र बृद्धीका लागि लाक्पाफुटीको उच्च योगदान रहेको छ ।

विश्वको नै महंगो र रोजाईको क्षेत्र हो माउन्टेन टूरिज्म । पर्वतीय पर्यटनको उच्च सम्भावना भएको मुलुक हो नेपाल । यसको विकास र विस्तारका लागि लाक्पाफुटीको अतुलनीय योगदान रहेको छ । लाक्पाफुटीले यही क्षेत्रलाई समेटेर आफ्नै आत्मावृतान्त हिमालमा चालिस बर्ष र हिमालकी छोरी नामक दुई पुस्तक समेत प्रकाशन गरिसकेकी छन् ।

यी दुवै पुस्तक विश्वभरी प्रख्यात छन् । पुस्तकले नेपालको हिमाल र नेपालीलाई चिनाउँन उच्च योगदान गरेको छ ।

प्रकाशित मिति : आईतवार, २५ फाल्गुन २०७६ १०:०९
प्रतिक्रिया दिनुहोस्