Logo

माप्य दुधकोशी गाउँपालिकाद्धारा कोरोना भाइरसविरुद्धको अभियान सञ्चालन, हेल्थ डेक्स स्थापना गर्ने तयारी


सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले विद्यालयबाट कोरोना भाइरस (कोभिड १९)विरुद्धको अभियान मंगलबारबाट सञ्चालन गरेको छ । मंगलबार गाउँपालिका उपाध्यक्ष जुनितामाया मगर, गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्र यादवलगायत संलग्न टोलीले वडा नम्बर २ मा अवस्थित बासाखाली माध्यमिक विद्यालयमा कोरोना भाइरसबारे जनचेतना जगाउने कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रममार्फत विद्यार्थी र शिक्षकहरुलाई कोरोना भाइरस कसरी सर्छ ?, कोरोना भाइरसको लक्षणहरु के के हुन् ?, कोरोना भाइरसबाट कसरी बच्ने ? जस्ता महत्वपूर्ण जानकारी गराउने काम गरिएको गाउँपालिका उपाध्यक्ष जुनितामाया मगरले जानकारी दिनुभयो ।

जनचेतनामूलक कार्यक्रमसँगै अब छिट्टै बासा स्वास्थ्यचौकी, खास्तापमा हेल्थडेक्स स्थापना गर्ने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो । कोरोना भाइरसबाट आतंकित हुनुपर्ने अवस्था नभएको बताउँदै उहाँले यसबारे आफुले पूर्ण जानकारी लिएर आफु पनि सचेत हुने र अरुलाई पनि सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

जिल्लाका अन्य गाउँपालिकाहरुले पनि हेल्थ डेक्स स्थापनासँगै कोरोना भाइरसबारे जनचेतना जगाउन कार्यक्रमहरुलाई तीब्रता दिइरहेका छन् ।

प्रकाशित मिति : बुधबार, ५ चैत्र २०७६ २०:०९
प्रतिक्रिया दिनुहोस्