सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग उन
काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।
उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ ।
समाचार एजेन्सी केसीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेका थिए । उनी आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए ।
यसअघि उनी १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका थिए । लामो समयसम्म उनी कार्यक्रमहरुमा नदेखिएपछि गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए ।
खासगरी अमेरिकी अधिकारीहरुले उनी कोमामा गएको दाबी गरेका थिए । तर, दक्षिण कोरियाली नेताहरुले भने किम जोङ्ग उन गम्भीर रुपमा बिरामी भएको कुरा सत्य नभएको बताउँदै आएका थिए ।
१५ अप्रिलमा हजुरबुवा (उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ्ग) को जन्मदिनको समारोहमा उपस्थित नभएपछि किम जोङ्ग उनबारे चासो बढेको थियो । उत्तर कोरियामा किम इल सुङ्गको जन्मदिनमा सबैभन्दा ठूलो समारोह आयोजना गरिन्छ, तर त्यही कार्यक्रममा किम जोङ्ग उनको अनुपस्थितिलाई लिएर अड्कलबाजी सुरु भएको थियो ।
सरकारी मिडियाहरुले १२ अप्रिलमा लडाकु विमानहरुको निरीक्षण गरिरहेको किम जोङ्ग उनको तस्वीर सार्वजनिक गरेका थिए । सोही दिन उनले पार्टीको बैठकको अध्यक्षता गरिरहेको तस्वीर पनि सार्वजनिक भएको थियो । त्यसपछि उनी कतै देखिएका थिएनन् ।
दुई हप्ता अगाडि उत्तर कोरियाली मिडियाहरुले मिसाइल परीक्षण गरेको जानकारी दिए । त्यहाँ पनि किम जोङ्ग उन देखिएनन् । खासगरी उनी यस्ता कार्यक्रमहरुमा जहिले पनि देखिने गर्दथे ।
त्यसपछि अनेक अड्कलबाजीको बीच उनको मुटुको शल्यक्रिया गरेको र गम्भीर बिरामी परेको समाचारहरु सार्वजनिक भएका थिए । कतिपय मिडियाहरुले त गुप्तचर स्रोतलाई उद्धृत गर्दै किम जोङ्ग उनको मृत्यु भइसकेको दाबी गरेका थिए ।
किम जोङ्ग उन सार्वजनिक कार्यक्रममा नदेखिएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा पनि उनी ४० दिनसम्म कतै नदेखिँदा धेरै अफवाह फैलिएको थियो । त्यतिबेला त उनलाई सत्ताच्युत गरिएका सामाचारहरु आएका थिए ।
त्यसपछि उनले लठ्ठी हातमा लिएको तस्वीर सार्वजनिक भयो । सरकारी मिडियाले जोर्नी दुख्ने समस्याबाट उनी पीडित भएको समाचार दिएका थिए । तर सत्ताच्युतको समाचारहरुबारे भने खण्डन वा स्पष्टीकरण केही पनि आएको थिएन ।