Logo

टाक्टोर लाम्जुरा वन क्षेत्रमा सडक बनाउन दिने मन्त्रीपरिषदको निर्णय, अब चाडै सल्लेरी–लिखुपिके जोडिने


सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि लिखुपिके गाउँपालिका सिधा जोड्ने सडक ट्रयाक ओपनका लागि मार्गप्रशस्त भएको छ । टाक्टोर लाम्जुरा वन क्षेत्र सार्वजनिक प्रयोगका लागि दिने मन्त्रीपरिषदबाट निर्णय भएसँगै केही वर्षदेखि रोकिएको सडक ट्रयाक ओपनको लागि बाटो खुलेको हो ।

यसअघि वन क्षेत्र प्रयोगमा डिभिजन वनले रोक लगाएपछि साढे चार किलोमिटर दुरीमा ट्रयाक खोल्ने काम अलपत्र परेको थियो । सुचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले टाक्टोर लाम्जुरा वन क्षेत्र सडक निर्माणको लागि प्रयोग गर्न दिने मन्त्रीपरिषदले निर्णय गरेको जानकारी दिए ।

यसअघि सदरमुकामदेखि लामजुरासम्मको सडक विस्तारका लागि संघीय सांसद हेमकुमार राई (सुरबीर)को पहलमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट आर्थिक वर्ष २०७६/७७ मा विनियोजित ५० लाख र आर्थिक बर्ष २०७७/७८ मा विनियोजित २० लाख रकमको काम भइसकेको छ ।

अत्ति आवश्यक उक्त सडक खण्ड ट्याक ओपनको काम अब छिटै सुरू हुने र लिखुपिके गाँउपालिका सल्लेरी अर्थात् सोलुदुधकुण्ड नगरपालिका सडक सञ्जालले सहज रूपमा जोडिने सांसद राईले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षमा यो क्षेत्रको ट्रयाक ओपनको लागि ५० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

सीधा सडक नजोडिदाँ लिखुपिकेका नागरिक कम्तीमा आठ घन्टा पैदल यात्राबाट सदरमुकाम सल्लेरी धाउनुपर्ने बाध्यता रहेको छ । सडक यात्राबाट सल्लेरी आइपुग्न रामेछापको मन्थली–खुर्कोट–घुर्मी–ओखलढुंगा हुँदै गाडी रिजर्भ गर्नुपर्ने अवस्था छ ।

लिखुपिकेका नागरिक नागरिकता र राहदानी बनाउन सल्लेरी नै आउनुपर्छ । सदरमुकामसँग सडक जोडिन सकेको खण्डमा कम्तीमा पनि दुई घन्टामै सदरमुकाम पुग्न सकिने लिखुपिकेका स्थानीयहरु बताउछन् ।

प्रकाशित मिति : शुक्रबार, १६ पुष २०७८ २१:१८
प्रतिक्रिया दिनुहोस्