Logo

‘थुलुङ दुधकोशीबाट विकासको मोडेल सिक्ने दिन आएकाे छ’: प्रचण्ड


सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासकाे माेडेल थुलुङ दुधकाेशी गाउँपालिकाबाट सिक्नुपर्ने बताएका छन् ।

साेमबार (आज) सोलुखुम्बु जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिकाद्वारा निर्मित दुधकोशी सामुदायिक अस्पताल, थुलङ दुधकोशी बहुप्राबिधिक शिक्षालय तथा गाउँपालिकाको प्रशासनिक पक्की भवनको समुद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।

‘केन्द्र र प्रदेश सरकारसँग मिलेर पालिका विकासमा असिम राईजीले खेलेको भूमिका निकै दूरगामी छ,’ उनले भनकाे छन्, ‘थुलुङ दुधकोशीबाट विकासको मोडेल सिक्ने दिन आएकाे छ ।’

उनले साेलुखुम्बु आफैँमा निकै रमणीय रहेकाे भन्दै त्यसमा थुलुङ दुधकाेशीकाे उत्कृष्ट कामले थप साथ दिएकाे बताए । उनले पालिका अध्यक्ष असिम राईकाे प्रशंसा गर्दै भनेका छन्, ‘उहाँ (असिम राई) ले मैले नसाेचेकाे काम गर्नुभएकाे रहेछ । राम्राे साेलुखुम्बुलाई उहाँकाे कामले अझै राम्राे बनाएकाे छ ।

उनले समाजवादमार्फत नै मुलुकलाई समृद्ध बनाउनुपर्ने दाेहाेर्‍याए ।

‘संघीय निजामती ऐन र सुरक्षा ऐनहरू बनाउन बाँकी छ । संविधानको सफल कार्यान्वयनमार्फत तल्लो तहलाई अधिकार सम्पन्न बनाउने ठूलो अभिभारा बाँकी नै छ,’ उनले भनेका छन्, ‘तर हामीले समाजवादमार्फत नै समृद्ध बनाउने हाे मुलुकलाई ।’

उनले आफूले पुन: देशकाे नेतृत्व सम्हाल्न खाेजिरहेकाे संकेत गरे ।

जनयुद्ध र शान्ति प्रक्रिया आफ्नै नेतृत्वमा सम्पन्न भएकाे दृष्टान्त सुनाउँदै उनले भनेका छन्, ‘अब देशको विकास र समृद्धिमा पनि एकपटक नेतृत्व गर्ने उत्कट चाहना छ । समाजवादी मुलुक नेपालको एकपटक नेतृत्व गर्ने चाहना छ ।’

गाउँपालिका केन्द्र मुक्लिमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले संविधानको रक्षामार्फत अब आर्थिक क्रान्तिमा लाग्ने बताए ।

नेपालमा माओवादीकै कारणले परिवर्तन सम्भव भएको भन्दै औद्योगिकीकरणमार्फत समाजवादी दिशामा अगाडि बढ्ने उद्घोष उनले गरे । अबको अन्तिम लक्ष्य समाजवादी देश निर्माण रहेको भन्दै त्यहीअनुसार देशकाे अर्थतन्त्र चलयामान हुने दाबी अर्थमन्त्री शर्माको छ ।

उनले भने, ‘प्रचण्डको नै नेतृत्वमा देशले आमूल परिवर्तन गर्न सम्भव भयो, अब प्रचण्डकै नेतृत्वमा देशकाे मुहार फेरिन्छ ।’ 

कार्यक्रममा सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, पूर्व संचारमन्त्री राम कार्की, विभिन्न पालिकाका प्रमुखहरूको सहभागिता थियो।

प्रचण्डले एकै साथ उद्घाटन गरेको ५० शय्याको दुधकोशी सामुदायिक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय पाँच करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने सात करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । 

यसैबीच कार्यक्रममा पालिकालाई २५ रोपनी निःशुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङलगायतलाई सम्मान गरिएको छ । 

प्रकाशित मिति : सोमबार, ३ आश्विन २०७९ २०:२६
प्रतिक्रिया दिनुहोस्