Logo

४ करोड बढि लागतमा निर्माणाधिन जुभिङ स्वास्थ्य चौकीको पक्की भवन शिलान्यास


सोलुखुम्बु । जुभिङ स्वास्थ्य चौकीले सुविधा सम्पन्न पक्की भवन पाउने भएको छ । माप्य दुधकोशी गाउँपालिकासँग सहकार्य गरेर थ्यो फ्रिच अस्ट्रियाको आर्थिक सहयोगमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण हुन लागेको हो ।

आइतबार एक भव्य समारोहका बीच गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरब राईले सो भवनको शिलान्यास गर्नुभएको छ ।

४ करोड रुपैयाँ भन्दा बढि लगानी लाग्ने भवन करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण हुनेछ । ६ हजार स्क्वायर फुडको साढे दुई तल्ले भवनमा २३ कोठा बन्ने छ ।

उक्त भवनमा वर्थिङ सेन्टर, जेनेरल ओपीडी, फार्मेसी, एक्सरे, ल्यावलगायतको छुट्टाछुट्टै शाखा रहने छन् । त्यससँगै भवन अपांगमैत्रीसमेत बन्ने बताइएको छ । भवन निर्माणको सम्पूर्ण कार्य आगामी एक वर्षभित्र सम्पन्न गरिसक्ने भनिएको छ ।

भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले आवश्यकतालाई ध्यानमा राखेर जुभिङमा बनाउन लागिएको यो भवन सिंगो गाउँपालिकाकै लागि नमुना भवन भएको बताउनुभयो । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको विकासमा स्थानीय सरकार गम्भिर रहेको उल्लेख गर्दै उहाँले यो भवन निर्माण सम्पन्न गर्नको लागि सम्बन्धित जनप्रतिनिधि, बुद्धिजिवी, सरोकारवाला निकाय र आम नागरिक एक जुट भएर लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
अध्यक्ष राईले समृद्धिको सपना पूरा गर्नका लागि सल्लेरीबाट बासा ओर्लाङघाट हुँदै वडा न.. १ लाई जोड्ने सडकको स्तरोन्नति गर्दै वाकुबाट ठानेखोला सडक ट्याक ओपन गर्न र टाक्सिन्दु हुँदै छिर्दीको बाटोलाई सिधा सुचारु गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाले कृषि र पर्यटनलाई आधार बनाएर सिंगो गाउँपालिकाको विकासलाई सार्थक बनाउन लागिएको भनाइ उहाँको छ ।

गाउँपालिका उपाध्यक्ष गौरब राईले स्वास्थ्य चौकी भवन निर्माण गर्दा हरेक तवरबाट गुणस्तरीयतामा ध्यान दिनुपर्ने र निर्माण भइसकेपछिको उपयोगितामा समेत सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
वडा नं. १ हरेक हिसाबले सम्भावना बोकेको वडा भएको चर्चा गर्दै उहाँले यस क्षेत्रको विकासका लागि गाउँपालिकाले प्राथमिकता राखेर काम गरिरहेको दाबीसमेत गर्नुभयो ।

वडा नं. १ का वडा अध्यक्ष सज्जन राईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्षसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादब, वडा नं. ४ का वडा अध्यक्ष भक्त राई, कार्यपालिका सदस्य प्रकाश खालिङ र आङकाजी शेर्पा, दातृ संस्थाको तर्फबाट प्रोजेक्ट समन्वयकर्ता शुम्बा शेर्पा र प्रोजेक्ट फिल्ड संयोजक पञ्च राईसँगै स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी तथा विभिन्न विद्यालयको प्रधानाध्यापकलगायतको उपस्थिति रहेको थियो ।

भवन निर्माणका लागि आवश्यक सबै जग्गा निशुल्क रुपमा उपलब्ध भएको हो । अहिले बन्दै गरेको भवनको जग्गा पुर्ण राईको हो, तर उक्त जग्गा पूर्व वडा अध्यक्ष अगम कुमार राई र कृष्ण राई दाजुभाइले त्यसको सट्टा ६ रोपनी जग्गा दिएर स्वास्थ्य चौकीलाई नि:शुल्क रुपमा दान गर्नुभएको हो । त्यस्तै पर्बसिङ राई, नौसौर राई र आईजित राईले पनि स्वास्थ्य चौकीको लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ ।

प्रकाशित मिति : सोमबार, ११ मंसिर २०८० १०:१५
प्रतिक्रिया दिनुहोस्