खोङ्माला पासमा जाने पर्यटक, गाइड तथा भरियाहरूलाई गाउँपालिकाद्वारा सचेत
काठमाडौं । सगरमाथा क्षेत्रमा पर्ने खोङ्माला पास (डोल्मी री) मा जाने ट्रेकर, पर्यटक, गाइड तथा भरियाहरूलाई सचेत गराइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबार एक अत्यावश्यक सूचना जारी गर्दै अधिकतम सतर्कता अपनाउन भनेको हो ।
लोबुचे विकास समुदायको सिफारिसअनुसार गाउँपालिकाले सबै सम्बन्धित व्यक्तिहरूलाई सुरक्षा मापदण्डहरू कडाइका साथ पालना गर्न, उचित मार्गदर्शन लिन, तोकिएको बाटोमै हिँड्न तथा यात्रा गर्दा अधिकतम सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
पछिल्ला वर्षहरूमा खोङ्मा ला पास मार्गको विशेषगरी छुकुङ देखि लोबुचे जोड्ने हिमनदीय (ग्लेसियर) बाटोमा दुर्घटनाका कारण ज्यान गुमाउने घटनाहरू बढ्दै गएका छन् ।
छुकुङदेखि खोङ्मा ला पाससम्मको यात्रा सामान्यतया करिब ६ घण्टा लाग्ने गर्दछ । हिमनदीको परिवर्तनशील अवस्थाका कारण ट्रेकिङ मार्ग प्रत्येक वर्ष बदलिँदै जान्छ, जसले मार्ग पहिचान गर्न कठिन र अनिश्चित बनाएको छ । प्रायः ट्रेकरहरू अत्यधिक थकित अवस्थामा ग्लेसियर क्षेत्रमा पुग्ने गरेका छन्, जसले लोबुचे तर्फको सही बाटो हराउने जोखिम अझ बढाउँछ ।
खोङ्मा ला पास, जसलाई “डोल्मी री” पनि भनिन्छ । यस क्षेत्रको धार्मिक महत्व बोकेको उच्च हिमाली क्षेत्र पनि हो । त्यसो त बौद्ध परम्परा अनुसार धार्मिक वा पवित्र स्थान वरिपरि घुम्दा घडीको दिशामा परिक्रमा गर्नुपर्ने हुन्छ, जुन यस क्षेत्रमा ट्रेकिङ गर्दा पनि सम्मानपूर्वक पालना गर्न पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

