Logo

स्वयवियु निर्वाचनमा होमिने अनेरास्ववियूको निर्णय, अधिकांश क्याम्पसमा जित्ने दाबी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) द्वारा घोषित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा होमिने निर्णय गरेको छ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को एकतापछि भएको पहिलो पूर्ण बैठकले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु सहभागी हुने निर्णय गरेको हो।

बैठकमा अनेरास्ववियुका जिल्ला र क्याम्पस कमिटीलाई स्ववियु निर्वाचनको तयारी गर्नसमेत निर्देशन दिने निर्णय गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जानकारी दिए।

‘करिब १० वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा सहभागी हुने निर्णय गरेको छौँ’, उनले भने, ‘नेपाल विद्यार्थी सङ्घ र अन्य विद्यार्थी सङ्गठनलाई पनि स्ववियु निर्वाचनमा सहभागी हुन आग्रह गरिएको छ।’

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन। विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो।

यसैगरी बैठकले सरकारलाई अन्य विश्वविद्यालयमा पनि स्ववियु निर्वाचन गराउन माग गरेको छ। वि.सं. २०७३ मा करिब २५० क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो। अहिले त्रिविसहित पोखरा, पूर्वाञ्चल, काठमाडौँ विश्वविद्यालयमा केही क्याम्पसमा मात्र स्ववियु निर्वाचन हुने गरेको छ।

बैठकले राष्ट्रिय शिक्षा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनसमेत सार्वजनिक गर्न माग गरेको छ। यस्तै सरकारको नीति, नियम र निर्देशन नमान्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो। शुक्रबारदेखि शुरु भएको एकता बैठकले आज अनेरास्ववियुका संयोजक ऐन महरको राजनीतिक तथा शैक्षिक प्रतिवेदन र सहसंयोजक रञ्जित तामाङको ‘अनेरास्ववियुको अन्तरिम विधान–२०७६’ समेत पारित गरेको छ।

नयाँ विधानअनुसार ३३५ केन्द्रीय सदस्य, १११ सचिवालय सदस्य, ४५ स्थायी कमिटी सदस्य र नौदेखि १५ सम्म केन्द्रीय कार्यालय समिति राख्ने व्यवस्था गरिएको छ। बैठकले माघ मसान्तभित्र प्रदेश, जिल्ला र क्याम्पस कमिटीको एकता सम्पन्न गर्ने निर्णयसमेत गरेको छ। यही पुस १८ गते दुवै सङ्गठनको एकता गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्