गन्तव्य नेपाल ग्रुपद्वारा सय जना पत्रकारलाई पिपिई सेटसहित प्रेस ज्याकेट, मास्क, ग्लब्स तथा स्यानिटाइजर वितरण
काठमाडौं, जेठ १६ गते / गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।
शुक्रबार ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलले सामाजिक दुरी कायम गर्दै नक्साल स्थित नारायण चौरबाट छापा, अनलाइन, रेडियो तथा टेलिभिजनमा कार्यरत १०० जना पत्रकारलाई पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर वितरण गरेका हुन् ।
सामग्री वितरण पछि सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै अध्यक्ष अधिकारीले सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहारप्रति आभार प्रकट गरेका छन् ।
“सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार र विशेष गरी विहारका मूल गुरु हाल नेपालमा रहनुभएका ताइवानी नागरिक हेगुवाङ शी र विहारअन्तर्गत कोरोना लक्षित आपत्कालीन राहत कार्यक्रमका सञ्चालक शान्त शर्मा प्रति विशेष आभार प्रकट गर्दछौं,” अधिकारीको वक्तव्यमा उल्लेख छ ।
अधिकारीकै अध्यक्षतामा केही दिनअघि राष्ट्रिय पर्यटन पत्रकार समाज (नाटोज) ले पनि सोही स्थानबाट ५० जना जति पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको थियो ।