Logo

सोलुखुम्बुमा राष्ट्रिय ग्रिड पुग्यो, सय घरमा विद्युत् प्रवाह


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सोलुखुम्बुमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् प्रवाह गरेको छ । स्थानीयको विरोध, जटिल भौगोलिक अवस्थिति छिचोलेर निरन्तरको प्रयासपछि ग्रिडबाट विद्युत् प्रवाह सुरु भएको हो ।

प्राधिकरणले हिजो बिहीबार (जेठ २९ गते) सोलु–दूधकुण्ड नगरपालिका–८ पातलेका सय घरमा विद्युत् प्रवाह गरेको छ । प्रादेशिक कार्यालय विराटनगरको मुख्य भूमिका, सहयोग र समन्वयका कारण जिल्लामा ग्रिड पुर्याउन सम्भव भएको सोलुखुम्बु वितरण केन्द्र प्रमुख डेगराज पौड्यालले बताए ।

‘उपकरण ढुवानी, ठेकेदार परिचालन लगायत काममा आवश्यक सहयोग भयो,’ उनले भने, ‘पर्याप्त सहयोग भएकैले लकडाउनको समयमा पनि काम गरेर विदुतीकरण गर्न सकियो ।’ केही महिना अघि विद्युतीकरणका क्रममा पातालेमा स्थानीयले प्राधिकरण कर्मचारीलाई कृुटपिट गरेका थिए ।

पौड्यालका अनुसार नेचा–सल्यान गाउँपालिका–५ का १ सय ५० घरमा एक महिनाभित्र विद्युतीकरण हुनेछ । यस्तै, ११ सय घरमा बत्ती बाल्नुपर्ने तिङ्लामा ९ सय घरको आवेदन परेको छ । यसको ठेक्कापट्टा गर्ने चरणमा पुगेकोले आगामी साढे २ महिनाभित्र बत्ती बालिने जनाइएको छ ।

करिब ५९ हजार मतदाता रहेको अनुमान गरिएको जिल्लाको थुलुङ–दूधकोसी गाउँपालिकामा आगामी तिहारसम्म विद्युतीकरण हुनेछ । सिंगो जिल्लामा ३ वर्षभित्र ग्रिडबाट विद्युतीकरण गर्ने लक्ष्य रहेको उनले बताए ।

आफू कार्यालय प्रमुख भएर गएपछि करिब २५ सय पोल विस्तार गरिएको र पहिलो चरणमा ग्रिडको विद्युत् पुर्याउन सम्भव भएको पौड्यालले बताए । श्रीराम पाण्डे विराटनगर प्रादेशिक कार्यालय प्रभुख भएर गएपछि पूर्वाञ्चलको विद्युतीकरण, वितरण लाइन विस्तार, भोल्टेज सुधार तथा स्तरोन्नतीमा व्यापक परिवर्तन देखिएको छ ।

विद्युतीकरणका हिसाबले सोलुखुम्बुमा १० प्रतिशत समुदायमा मात्र विद्युत् पुगेको छैन । साना तथा लघुजलविद्युत्बाट धेरै ठाउँमा विद्युतीकरण भएको छ । जिल्लामा ५ किलोवाटदेखि ६ सय ७० किलोवाटसम्मका लघुजलविद्युत् आयोजना सञ्चालित छन् ।

राष्ट्रिय ग्रिड पुगेपछि लघुजलविद्युत् विस्थापित हुने हुँदा स्थानीयमा चिन्ता पनि थपिएको छ । तर, प्राधिकरणले यस्तो विद्युत् ग्रिड कनेक्सन एग्रिमेन्ट गरेर केन्द्रीय प्रणालीमा प्रवाह हुने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, ३० जेष्ठ २०७७ २०:२०
प्रतिक्रिया दिनुहोस्