Logo

कोरोना भाइरसले असर परेको अर्थतन्त्र ‘भी’ सेपमा रिकभरी हुने मन्त्री खतिवडाको दाबी


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतविडाले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्र ‘भी’ सेपमा रिकभरी हुने दाबी  गरेका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा उनले अर्थतन्त्रको रिकभरी ‘भी’ सेपमा हुन सक्ने बताएका हुन् । भूकम्पपछि आर्थिक संरचनाहरुमा क्षति हुँदा समेत अर्थतन्त्रलाई भीसेपको रिकभरी गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि भीसेपको रिकभरी सम्भव भएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

‘भूकम्पपछिको पुनर्निर्माणमा पनि यो धेरै विषय चलेको थियो कि अब अर्थतन्त्र थला पर्यो उठ्नै सक्दैन भन्ने विषय उठेको थियो । त्यो बेला हाम्रा आर्थिक संरचनाहरु पनि भत्किएका थिए,’ उनले भने, ‘तर हामीले भी सेपको रिकभरी गर्यौं भूकम्पपछिको पुनर्निर्माणको चरणमा । त्यसैले हाम्रो इतिहास, हाम्रो अनुभव र हाम्रा प्रयासहरुलाई हेर्ने हो भने हामी फेरि पनि भी सेपको रिकभरीमा जान सक्छौं ।’

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका केही सवल पक्षहरु कायम नै रहेकाले त्यसलाई परिचालन गर्दा श्रम बजारको समस्या र आपूर्ति श्रृङ्खलालाई सहज बनाउन सजिलो हुने बताए ।

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उपकरणहरुमा सरकारले सहजीकरण गरिरहेको समेत बताए । उनले बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युतमा छुट दिने लगायतका विषयमा सरकारले जोड दिएको स्पस्ट परे ।

अर्थमन्त्री खतिवडाले मुलुकमा झण्डै तीन चौथाई लगानी निजी क्षेत्रको रहेकाले निजी क्षेत्रलाई सरकारले बिर्सन नसक्ने बताए ।

प्रकाशित मिति : शुक्रबार, ५ असार २०७७ २२:५५
प्रतिक्रिया दिनुहोस्