Logo

नेकपा सोलुखुम्बुका नेता बस्नेतको निधन, पार्टीको झण्डा ओडाएर सम्मान, तीन दिनसम्म सम्पूर्ण कार्यक्रम स्थगित


सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सोलुखुम्बु जिल्ला कमिटीका सचिवालय सदस्य सोभित बस्नेतको निधन भएको छ । आइतबार पार्टी जिल्ला कमिटीको तेस्रो बैठकमा सहभागि भएका बस्नेत अचानक प्रेसरको समस्याका कारण हस्पिटलाइज हुनुभएको थियो ।

सुरुमा सोलु हेल्थकेयर, सल्लेरीमा भर्ना भएको र पछि जिल्ला अस्पताल फाप्लु लगिएकोमा उपचारको क्रममा उहाको निधन भएको हो ।

सोमबार नेकपाले बस्नेतको पार्थिव शरिरमा पार्टीको झण्डा ओडाएर सम्मानसहित श्रद्धाञ्जली अर्पन गरेको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रांगनमा संयौको उपस्थितिबीच पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका जिल्ला इन्चार्ज तथा संघीय सांसद हेमकुमार राई, जिल्ला अध्यक्ष मानबीर राई, जिल्ला सचिव कज्र्याङ शेर्पा, प्रदेश सभा सदस्यद्धय बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेत, पार्टी प्रदेश कमिटी सदस्य आङङिमा लामा, महेश किराती, ध्रुव पराजुलीलथायतले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएर सम्मान व्यक्त गर्नुभएको थियो ।

यसैबीच, पार्टी जिल्ला कमिटी सोलुखुम्बुले प्रेस विज्ञप्तीमार्फत श्रद्धाञ्जली अर्पण गरेको छ । जिल्ला अध्यक्ष मानबीर राई र सचिव कज्र्याङद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा बस्नेतको निधनले सिंगो पार्टीपंक्तिलाई अपुरणीय क्षति भएको उल्लेख गरिएको छ । सोही विज्ञप्तीमार्फत पार्टीको जिल्ला कार्यलयसहित मातहतका सबै कमिटी कार्यालयहरुमा ३ दिनसम्म पार्टीको झण्डा आधा भुकाउने तथा पार्टीअन्तर्गतका सबै कार्यक्रमहरु ३ दिनसम्म स्थगित गर्ने घोषणासमेत गरिएको छ ।

 

पार्टीमा स्पष्ट वक्ता र कुशल नेतृत्वको रुपमा उनले आफ्नो परिचय बनाएका थिए ।४१ वर्षीय बस्नेतले अनेरास्ववियूको सोलुखुम्बु जिल्ला अध्यक्ष, जिल्ला पार्टी सदस्य हुँदै सचिवालय सदस्यको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : सोमबार, १९ आश्विन २०७७ ०७:४३
प्रतिक्रिया दिनुहोस्