बढ्यो सगरमाथाको उचाई, यसरी हुँदैछ घोषणा !
काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको हो ।
बैठकमा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति माग्दै ठाडो प्रस्ताव पेश गरेकी थिइन् । मन्त्रालयको प्रस्ताव बैठकको लिखित कार्यसूचीमा राखिएको थिएन ।
क्याबिनेटले ठाडो प्रस्तावका आधारमा उचाइ घोषणा गर्न स्वीकृति दिइएको छ । यद्यपि सगरमाथाको उचाइ कति छ भन्ने मन्त्रीहरुलाई समेत जानकारी दिइएको छैन ।
स्रोतका अनुसार सागरमाथाको उचाई बढेको छ । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएकाले अहिले सार्वजनिक नगरिएको हो ।
अधिकारीहरुका अनुसार चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणका क्रममा यसबारे घोषणा हुनसक्छ । मन्त्रालयले पनि केहीदिनमै औपचारिक कार्यक्रममार्फत सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने बताएको छ ।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।
यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ कायम रही आएकोमा थोरै फेरबदल आएको स्रोतले बतायो ।