काँगेलडाँडा बिमानस्थलमा मंसिर २५ गते परीक्षण उडान
सोलुखुम्बु । सोलुखुम्बुको काँगेलडाँडा विमानस्थलमा मंसिर २५ गते बिहिबार परीक्षण उडान हुने भएको छ । मंसिर २५ गते परीक्षण उडान गरिने बिमानस्थलमा हरेक हप्ताको मंगलबार नियमित उडान हुने पक्का भएको छ ।
हरेक मंगलबार नियमित उडान गर्ने गरि आइतबार थुलृुङदुधकोशी गाउँपालिका र नेपाल वायु सेवा निगम बीच सम्झौता समेत भएको छ । उडान सेवा सञ्चालन बारे गाउँपालिका अध्यक्ष असिम राई र नेपाल वायु सेवा निगम बाणिज्य विभागका निर्देशक टंकनिधी दाहाल बीच १४ बुँदे सम्झौतामा हस्ताक्षर भएको गाउँपालिकाका प्रबक्ता भुपाल सिं राईंले जानकारी दिए ।
सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर) को उपस्थितिमा भएको सम्झौतामा काठमान्डौ–काँगेलडाँडा–काठमाडौको लागि १६ सिटको ग्यारेण्टी गाउँपालिकाले गर्नुपर्ने छ । जसको लागि गाउँपालिकाले सम्झौता अनुसार दस लाख रुपैया धरौटी स्वरुप जम्मा गर्नेछ ।
यात्रुको चापलाई हेरेर हप्ताको ६ दिन उडान गर्न सकिने गरि सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । विगत लामो समयदेखि गौचरणमा परिणत भएको उक्त विमानस्थल सञ्चालनको लागि गाउँपालिका अध्यक्ष असिम राई, संघीय सांसद हेमकुमार राई (शुरवीर) सहितका जनप्रतिनिधले बारम्बार मन्त्रालय र विभागको ध्यानकर्षण गराएका थिए ।
गौचरणमा परिणत भएको काँगेलडाँडा बिमानस्थललाई सञ्चालनमा ल्याउन जनप्रतिनिधीले खेलेको भूमिकाको स्थानीयले सह्राना गरेकाछन् । उनीहरुले बिमानस्थलको दिगो र नियमित सञ्चालनमा जोड दिएकाछन् ।
विमान स्थल बन्द हुँदा सोलुखुम्बुको तल्लो तथा खोटाङको माथिल्लो क्षेत्रका वृद्धबृद्धा र बिरामीहरुलाई समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । नागरिकले भोगिरहेका समस्यालाई मध्यनजर गर्दै गत कार्तिक २१ संस्कृति पर्यटन मन्त्री योेगेश भट्टराई सहितको टोलीले निरिक्षण गरि सञ्चालनको तयारी अगाडी बढाईएको थियो ।